काठमाडौं । काठमाडौंस्थित युरोपियन युनियन मा आबद्ध विभिन्न देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग प्रधानमन्त्री वालेन्द्र शाह ले संयुक्त भेटवार्ता गरेका छन्।
सिंहदरबारमा जारी सामूहिक भेट तथा संवादमा नेपालको वर्तमान प्राथमिकता, विकास साझेदारी, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषय तथा आगामी सहकार्यका विविध आयामबारे छलफल भइरहेको जनाइएको छ।
प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल का अनुसार भेटवार्तामा नेपाल र ईयू आबद्ध मुलुकबीचको सम्बन्धलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा विशेष जोड दिइएको छ। भेटका क्रममा आर्थिक विकास, लगानी, सुशासन, लोकतन्त्र, जलवायु परिवर्तन तथा विकास सहकार्यका विषयमा समेत धारणा आदानप्रदान भएको बताइएको छ।
यसअघि गत चैत २५ गते पनि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गर्नुभएको थियो।


