विद्यार्थी युनियन खारेज गर्ने तयारीविरुद्ध त्रिविमा प्रदर्शन, आन्दोलन चर्किने चेतावनी

काठमाडौं । सरकारले विद्यार्थी युनियन खारेज गर्ने तयारी गरेको भन्दै विभिन्न विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा विरोध प्रदर्शनसहित मार्च पास गरेका छन्। शासकीय सुधारअन्तर्गत विद्यार्थी संगठन खारेज गर्ने बुँदा समावेश भएपछि संयुक्त विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले विश्वविद्यालयभित्र रहेका स्ववियु तथा विभिन्न विद्यार्थी संगठनहरूको अस्तित्व समाप्त पार्ने प्रयास स्वीकार्य नहुने बताएका छन्। उनीहरूले ‘विद्यालय शिक्षा विधेयक खोइ?’, ‘विश्वविद्यालयमा प्रहरी होइन, प्राध्यापक पठाउ’, ‘स्ववियु खारेज गर्न पाइँदैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

त्यसैगरी, प्रदर्शनकारीहरूले बढ्दो महँगी नियन्त्रण, शैक्षिक संस्थाहरूको ‘व्यारेकीकरण’ अन्त्य, मेरिटोक्रेसी लागू गर्नुपर्ने तथा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत यातायात भाडा छुट कायम गर्नुपर्ने मागसमेत अघि सारेका छन्।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष मदन ढकालले विद्यार्थी युनियन खारेज गर्ने तयारीविरुद्ध आफूहरू निरन्तर आन्दोलनमा रहेको बताएका छन्। उनले सरकारले माग सम्बोधन नगरे कडा आन्दोलन घोषणा गरिने चेतावनी दिए।

ढकालका अनुसार आगामी दिनमा स्ववियुको माध्यमबाट देशभरका क्याम्पसहरूमा विरोध कार्यक्रम विस्तार गरिनेछ। उनले मुलुकको हरेक परिवर्तनमा अग्रणी भूमिका खेलेका विद्यार्थी संगठनलाई खारेज गर्ने निर्णयले सरकारलाई नै समस्यामा पार्न सक्ने उल्लेख गरे।

Share:

सम्बन्धित समाचारहरु