कालिका नगरपालिका क्षेत्रभित्रका सामुदायिक कुकुर तथा विरालोको निःशुल्क बन्ध्याकरण आजदेखि सुरु

चितवनकालिका नगरपालिका क्षेत्रभित्रका सामुदायिक कुकुर तथा विरालोको निःशुल्क बन्ध्याकरण अभियान आजदेखि सुरु गरिएको छ।

नगरपालिका–४ स्थित पदमपुरमा रहेको पशु सेवा उपभोक्ता समितिको कार्यालयमा प्राविधिक टोलीले अभियान सुरु गरेको हो। कालिका नगरपालिकाको पशु सेवा शाखाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार रेबिज रोग नियन्त्रण गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको पशु शाखा प्रमुख डा. राजुप्रसाद न्यौपाने ले जानकारी दिए।

बन्ध्याकरण अभियानका लागि १४ जना प्राविधिक खटिएका छन्, जसमा ४ जना सर्जन समेत रहेका छन्। टोलीले दैनिक रुपमा शल्यक्रिया (सर्जरी) गर्दै आएको छ।

भेटेरिनरी सर्जन राजेश थारुका अनुसार नेपाल भेटेरिनरी काउन्सिलसँग आवद्ध प्राविधिकहरूको समेत सहभागिता रहेको छ। काउन्सिलको मापदण्डअनुसार बन्ध्याकरण प्रक्रिया सञ्चालन भइरहेको उनले बताए। सामान्यतया निजी क्लिनिकमा एउटा पोथी कुकुरको बन्ध्याकरण गर्दा करिब १० हजार रुपैयाँ र भाले कुकुरको ५ हजार रुपैयाँ खर्च लाग्ने भए पनि कालिका नगरपालिकाले उक्त सेवा निःशुल्क उपलब्ध गराएको छ।

नगरपालिकाले अभियान अन्तर्गत २५० वटा सामुदायिक कुकुरलाई बन्ध्याकरण गर्ने लक्ष्य लिएको छ। प्राविधिक टोलीले टोलटोलमा पुगेर कुकुर संकलन गरी बन्ध्याकरणपछि पुनः सोही स्थानमा छाड्ने व्यवस्था गरिएको छ। अभियान उद्घाटन कार्यक्रममा नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेल, पशु सेवा शाखाका इश्वरी प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो। यो अभियान तीनदिन सम्म चल्नेछ ।

Share:

सम्बन्धित समाचारहरु