१२:३४ मा शुभसाइत; रास्वपाको बहुमत सरकार गठन तयारी

बालेन शाह शुक्रबार प्रधानमन्त्रीमा शपथ लिँदै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने भएका छन्। ज्योतिषीय परामर्शअनुसार तय गरिएको शुभसाइत अनुसार उनले दिउँसो १२:३४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिने कार्यक्रम तय भएको छ।

शपथग्रहण समारोहलाई विशेष र भव्य बनाउने तयारी भइरहेको स्रोतले जनाएको छ। कार्यक्रमका क्रममा ७ वटा शंखबाट शंखनाद गरिने, १०८ जना बटुकद्वारा स्वस्ति शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुद्वारा अष्टमंगल पाठ गरिनेछ। यसले परम्परागत र सांस्कृतिक झल्को दिने अपेक्षा गरिएको छ।

शपथसँगै बालेनले सोही दिन प्रधानमन्त्रीको रूपमा पदभार पनि ग्रहण गर्नेछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनले दिउँसो २:१५ बजे पदभार ग्रहण गर्ने शुभसाइत तय गरिएको छ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले ऐतिहासिक सफलता हासिल गर्दै एक्लै १८२ सिट जितेको छ, जुन करिब दुई तिहाइ बहुमत हो। यससँगै बालेनको नेतृत्वमा स्थिर सरकार गठन हुने मार्ग खुलेको छ।

रास्वपाले सानो र प्रभावकारी मन्त्रिपरिषद् बनाउने रणनीति अघि सारेको छ। स्रोतका अनुसार मन्त्रालयको संख्या घटाएर सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भइरहेको छ। नयाँ सरकार सुशासन, सेवा प्रवाहमा सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्ने बताइएको छ।

शपथग्रहण समारोहमा राजनीतिक दलका शीर्ष नेता, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ।

नयाँ सरकार गठनसँगै देशको राजनीतिक स्थायित्व, विकास र सुशासनप्रति जनअपेक्षा समेत उच्च रहेको छ।–00—

Share:

सम्बन्धित समाचारहरु