प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम, त्याग र इतिहासको वास्तविक सन्देश

सेतो नेपालका लागि विशेष सम्पादकीय लेख

जसरी अक्सिजन विना जीवन, संगीत विनाको शब्द, पानी विनाको माछा — यी सबै शब्दहरू फिक्का–फिक्का छन्, त्यसैगरी माया अर्थात् प्रणय (माया)बिना मानव जीवन अधुरो हुन्छ। मायाको विषयमा आजसम्म कसैले पूर्ण रूपमा बयान गर्न सकेको छैन, र सम्भवतः यसको सम्पूर्ण व्याख्या कसैले पनि कहिल्यै गर्न सक्दैन। प्रेम अनुभूति हो, त्याग हो, समर्पण हो—शब्द भन्दा धेरै ठूलो भावना हो।

मायालु जोडीहरूले प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे लाई अहिले एउटा चाडको रूपमा मनाउने गरेको पाइन्छ। वास्तवमा अहिलेको परिस्थिति हेर्दा यही सहज देखिएको छ। बजार सजिएको हुन्छ, फूल, कार्ड र उपहारको किनबेच बढेको हुन्छ, सामाजिक सञ्जाल प्रेम सन्देशले भरिएको हुन्छ।

तर के साँच्चै भ्यालेन्टाइन डे कुनै पर्व होरु

वास्तवमा भ्यालेन्टाइन डे कुनै पर्व होइन। यो त एउटा त्यागको स्मरण हो—जसले माया गर्ने जोडीलाई मिलाउन आफ्नो ज्यान गुमाउनुपरेको थियो।

ऐतिहासिक पृष्ठभूमि

तेस्रो शताब्दीको रोमन साम्राज्यमा सम्राट “Claudius II” को शासनकाल थियो। उनी युद्धप्रिय शासक थिए। उनको विश्वास थियो कि विवाह गरेका पुरुषहरू युद्धमा कमजोर हुन्छन्। त्यसैले उनले युवाहरूको विवाहमा प्रतिबन्ध लगाए।

त्यही समयमा एक साहसी पादरी थिए — “Saint Valentine”। उनले प्रेमलाई अपराध मान्न अस्वीकार गरे। उनले गुप्त रूपमा प्रेमी–प्रेमिकाहरूको विवाह गराइदिए।

जब यो कुरा सम्राटसम्म पुग्यो, उनलाई गिरफ्तार गरियो। अन्ततः फेब्रुअरी १४ आजकै दिन उनलाई मृत्युदण्ड दिइयो।

उनको बलिदानले विश्वलाई सन्देश दियो—
प्रेमलाई कानुनले रोक्न सक्दैन। प्रेमलाई दण्डले दबाउन सक्दैन।

विश्वव्यापी विस्तार

समयक्रमसँगै यो दिन युरोप हुँदै विश्वभर फैलियो। मध्ययुगीन समयमा प्रेमपत्र लेख्ने परम्परा सुरु भयो। पछि छापाखानाको विकाससँगै भ्यालेन्टाइन कार्डहरू लोकप्रिय भए।

आज डिजिटल युगमा सामाजिक सञ्जाल, सन्देश, भिडियो र विभिन्न माध्यममार्फत प्रेम व्यक्त गरिन्छ।

तर स्वरूप बदलिए पनि मूल भावना उही छ— प्रेमको सम्मान।

हाम्रो सन्दर्भमा बुझ्दा

जसरी नेपालमा माघ १६ गते राणा शासनविरुद्ध सहादत प्राप्त गर्ने वीर शहीदहरूको सम्झनामा सहिद दिवस मनाइन्छ, त्यस्तै भ्यालेन्टाइन डे पनि एक व्यक्तिको बलिदानको स्मरण हो।

त्यहाँ राष्ट्रका लागि जीवन अर्पण गरिएको थियो, यहाँ प्रेम र स्वतन्त्रताको पक्षमा उभिँदा बलिदान गरिएको थियो।

त्यसैले यस दिनलाई केवल रमाइलो र प्रदर्शनको रूपमा मात्र हेर्नु यसको ऐतिहासिक महत्व घटाउनु हो।

प्रणय दिवसलाई केवल प्रेमी–प्रेमिकाबीच सीमित गर्नु यसको अर्थलाई साँघुरो बनाउनु हो।

प्रेमका धेरै आयाम छन्—आमा–बुवाप्रतिको माया-दाजुभाइ–दिदीबहिनीबीचको स्नेह-साथीहरूसँगको विश्वास-जीवनसाथीप्रतिको जिम्मेवारी

समाजप्रतिको सहानुभूति

प्रेम भनेको केवल आकर्षण होइन, प्रेम भनेको आदर हो। प्रेम भनेको विश्वास हो। प्रेम भनेको त्याग हो। प्रेम भनेको सहनशीलता हो।

यदि प्रेम व्यवहारमा छैन भने त्यो केवल शब्दमा सीमित रहन्छ।

⚖️ समकालीन सन्देश

आजको समयमा भ्यालेन्टाइन डे व्यापारिकरणतर्फ गएको आलोचना पनि गरिन्छ। तर उत्सव मनाउनु गलत होइन। गलत तब हुन्छ जब हामी यसको मूल भावना बिर्सन्छौं।

प्रेम देखाउन सजिलो छ,
तर प्रेम निभाउन धैर्य चाहिन्छ।

यदि हामीले यस दिनलाई सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लियौं भने यसको सार्थकता अझ बढ्छ।

प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे कुनै आयातित संस्कृतिको अन्धअनुकरण मात्र होइन, यो प्रेमका लागि गरिएको त्यागको स्मरण हो।

आज हामी यसलाई उत्सवका रूपमा मनाउँछौं, त्यो स्वाभाविक हो। तर यसको ऐतिहासिक पाटो सम्झेर, यसको मूल सन्देश आत्मसात गरेर मनाउँदा मात्र यसको वास्तविक महत्व प्रकट हुन्छ।

मायाको विषयमा आजसम्म कसैले पूर्ण रूपमा बयान गर्न सकेको छैन, र सम्भवतः कहिल्यै सक्ने पनि छैन।

तर यति निश्चित छ—प्रेम नै जीवनको सबैभन्दा सुन्दर सत्य हो।

प्रणय दिवसको उपलक्ष्यमा सम्पूर्ण प्रेमी–प्रेमिका, परिवार, मित्रजन तथा सम्पूर्ण पाठकवर्गमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।

साथै प्रेमको पक्षमा उभिँदै आफ्नो जीवन अर्पण गर्ने  “Saint Valentine” प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछौं।

प्रेम रहोस्, विश्वास रहोस्, सम्बन्ध सुदृढ बनोस्।

– विजय चौधरी
सेतो नेपाल विशेष सम्पादकीय प्रस्तुति

Share:

सम्बन्धित समाचारहरु