जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको ब्राण्ड एम्बेसडरमा कलाकार हरिहर अधिकारी

भरतपुर, २२ पौष । शैक्षिक परामर्शको क्षेत्रमा निरन्तर रूपमा सेवा प्रदान गर्दै आएको जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रालिले चर्चित कलाकार तथा ज्योतिषी हरिहर अधिकारीलाई आफ्नो ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। भरतपुरमा आयोजित एक भव्य तथा औपचारिक कार्यक्रममा अधिकारीलाई ब्राण्ड एम्बेसडरको जिम्मेवारी प्रदान गरिएको हो।

कार्यक्रममा कन्सल्टेन्सीका सञ्चालक, कर्मचारी, र चितवनको पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा ब्राण्ड एम्बेसडर हरिहर अधिकारी स्वयं उपस्थित भई जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीसँगको सहकार्यप्रति खुशी व्यक्त गरेका थिए।

युरोपका विभिन्न मुलुकहरूमा उच्च शिक्षाका लागि जान चाहने विद्यार्थीहरूलाई परामर्श सेवा प्रदान गर्दै आएको जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले विशेषगरी साईप्रसस्थित लेन्ड्रा (लिन्ड्रा) कलेजसँग सहकार्य गर्दै आएको छ। सो सहकार्यमार्फत विद्यार्थीहरूलाई कलेज छनोट, भर्ना प्रक्रिया, भिसा प्रक्रिया तथा आवश्यक कागजात व्यवस्थापनमा सहजीकरण गर्दै आएको कन्सल्टेन्सीले जनाएको छ।

कार्यक्रममा कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन अधिकारीले लेन्ड्रा कलेजसँगको सम्बन्ध, कलेजको शैक्षिक गुणस्तर, अध्ययन वातावरण तथा नेपाली विद्यार्थीहरूका लागि उपलब्ध सुविधाहरूको बारेमा विस्तृत जानकारी गराएका थिए। उनले जेभियर्सले विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै पारदर्शी, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

ब्राण्ड एम्बेसडर हरिहर अधिकारीले शैक्षिक परामर्शको क्षेत्रमा जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले विश्वासिलो र इमान्दार सेवा दिँदै आएको बताउँदै यस्तो संस्थासँग जोडिन पाउँदा आफूलाई गर्व लागेको उल्लेख गरे। साथै, जेभियर्समार्फत विदेश अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि आफूले निःशुल्क चिना हेर्ने तथा आवश्यक परेमा कुण्डलीसमेत हेरेर शुभ समयका बारेमा सुझाव दिने घोषणा गरे।

कार्यक्रमको अन्त्यमा सहभागी अतिथिहरूले जेभियर्स इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीको आगामी योजनाहरू सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु