गोठको छायाँबाट मञ्चको उज्यालोसम्म: इन्द्र श्रेष्ठको संघर्ष, संगीत र जिन्दगी

रेशम सापकोटा-
चितवन । कहिल्यै बिजुली बत्ती नबलेको एउटा गोठ, जहाँ गाईभैंसीको सास र घाँसको गन्ध मिसिएको हुन्थ्यो, त्यही गोठको कुनामा बसेर किताब खोलेको एउटा बालक आज लोकदोहोरी गायका मञ्चमा उभिएर हजारौँ हृदयलाई छुने स्वर दिइरहेको छ। यही बालक हुन् इन्द्र श्रेष्ठ—जसको जीवन गरिबी, पसिना र नछोडिएको सपनाले बनेको एउटा जिउँदो कथा हो।

वि.सं. २०४४ साल वैशाख ५ गते, भरतपुर–२ क्षेत्रपुरमा जन्मिएका इन्द्र श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ र स्वर्गीय चन्द्रमाया श्रेष्ठका ६ सन्तानमध्ये कान्छा छोरा हुन्। क्षेत्रपुरमा जन्मिए पनि उनको बाल्यकाल जुगेडीभन्दा माथि पर्ने कविलासको पहाडी काखमा बित्यो। बिहान घाँस काट्ने, साँझ गोठ सम्हाल्ने, अनि अँध्यारो गोठमा बसेर टुकी बत्ती बाली किताब पढ्ने—यही थियो उनको बाल्य जीवन। विद्यालयका कापीभन्दा पहिले उनले जीवनका कष्टहरू पढे।
“म गाईभैंसी बाँध्ने गोठमै बसेर पढ्थेँ,” उनी आज पनि भन्छन्। त्यो वाक्यमा मात्रै पनि एउटा पुस्ताको दुःख लुकेको छ।

तर त्यही अभावको संसारमा संगीत उनको आशा बन्यो। स्कुलका कार्यक्रमदेखि गाउँका मेलासम्म उनले गीत गाउन थाले। गीत उनका लागि रमाइलो मात्र थिएन, त्यो भोक, थकान र पीडाबाट बच्ने एउटा बाटो थियो। १९ वर्षको उमेरमा उनले लाइट गाडीको लाइसेन्स लिए। त्यो लाइसेन्स उनको हातमा कागज मात्र थिएन, त्यो आमाबुवाको भरोसा र परिवारको भविष्य थियो। त्यसपछि उनी गाडी चलाउन थाले। दुई वर्षमै ट्रक, हेभी गाडी र सार्वजनिक बससम्म चलाए। दिनभर सडकको धुलो, राति नारायणगढको रोयल दोहोरी साँझमा गीत—यही दोहोरो संघर्षमा उनको जवानी बित्यो।

कतिपय दोहोरी साँझहरूले उनको पसिनाको पैसा नदिएको पीडा पनि उनले भोगे। तर गीत उनको आत्मा थियो, त्यसलाई कसैले चोर्न सकेन। २० वर्षमै उनले तनहुँ तुतुरेकी पुनम श्रेष्ठसँग विवाह गरे। आज उनका दुई छोरी छन्—एक १६ वर्षकी कक्षा १० मा, अर्की ९ वर्षकी कक्षा ४ मा। इन्द्र बिहानै इ–रिक्सा लिएर फलफूल बोकेर गाउँ–गाउँ डुल्छन्। उता उनकी श्रीमती दिनभर घरमा नै पसल चलाउँछिन्। यो परिवारको दिनचर्या पसिनाले चलेको छ।
इन्द्र भन्छन्—

“मेरो श्रीमती मेरो शक्ति हो। दुःख पर्दा मेरो आँसु पुछ्ने, थाक्दा मेरो हात समात्ने, भोलिको सपना सँगै बुन्ने साथी हुन्।”
कहिलेकाहीँ उनी, उनकी श्रीमती र छोरीहरू सँगै बसेर गीत बनाउँछन् अनि सबै मिलि गित गाउछन । त्यो घर केवल घर संगै , त्यो एउटा सानो संगीतको मन्दिर हो।
इन्द्र हाल जिल्ला चितवन लोकदोहोरी प्रतिष्ठान
कार्यसमितिका सदस्य हुन्। लोकगीतसँगै आधुनिक र एकल गीतमा पनि उनले स्वर दिएका छन्।
चार वर्षअघि उनले आफ्नै शब्द र स्वरमा गाएको गीत—
“डाँडैमा पिपलु छायाँ, हाँसीहाँसी बोलेर लाउ माया…”
उनको बाल्यकाल, पहाड, प्रेम र पीडाको गीत बनेको छ।
उनले लोकदोहोरी स्टारमा चौथो राउन्डसम्म पुगेर आफूलाई प्रमाणित गरे।
“म किसानको छोरो हुँ,” उनी भन्छन्, “माटोको गन्धले नै मेरो आत्मा बनेको छ। दुःख के हो, म जन्मदेखि जान्दछु।”
आज पनि उनी स्थानीय सांस्कृतिक मञ्चमा पुग्छन्। जीवन सजिलो छैन, तर उनको सपना ठूलो छ—छोरीहरूलाई आफूले नपाएको शिक्षा दिलाउने।
“म आफैं भोकै बसुँला,” उनी भन्छन्, “तर मेरा छोरीहरूले सपना देख्न र पूरा गर्न पाउनैपर्छ।”
गोठको अँध्यारोबाट मञ्चको उज्यालोसम्म आइपुगेका इन्द्र श्रेष्ठको कथा एउटा कलाकारको मात्र होइन—यो नेपाली किसान परिवार, संघर्ष, प्रेम र संगीतले बनेको साँचो गीत हो, जहाँ आज पनि जिन्दगी संघर्षमै डुलिरहेको छ, तर त्यो संघर्षभित्र आशाको धुन निरन्तर बजिरहेकै छ।–00—

Share:

सम्बन्धित समाचारहरु