लौकही गोलीकाण्ड छानबिन गर्न समिति गठन, आन्दोलन जारी

विराटनगर । सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सफारी चालक विजय साहको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । तर, घटनाप्रति आक्रोशित स्थानीयको आन्दोलन भने अझै जारी रहेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वपक्षीय छलफलपछि सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो । समितिमा नेपाल प्रहरीका डीएसपी र राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृत सदस्य रहेका छन् । समितिलाई घटनासम्बन्धी प्रतिवेदन पेश गर्न सात दिनको समयसीमा दिइएको छ ।

सर्वपक्षीय छलफलबाट मृतक विजय साहकी श्रीमती र छोरालाई रोजगारी उपलब्ध गराउने सहमति समेत भएको छ । साथै, सशस्त्र प्रहरी बल (एपीएफ) को लौकहीस्थित सीमा सुरक्षा चौकी (बीओपी) टोली फिर्ता गराउने सहमति बनेको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

सहमति पश्चात् प्रशासनमा वार्तामा सहभागी मृतकका आफन्त र स्थानीयले आन्दोलनरत पक्षलाई आन्दोलन तथा प्रदर्शन फिर्ता लिन आग्रह गरेका छन् । तर, माग पूर्ण रूपमा सम्बोधन नभएको भन्दै स्थानीयले प्रदर्शन भने अझै जारी राखेका छन् ।

घटनास्थल वरपर सुरक्षा सतर्कता बढाइएको छ भने प्रशासनले शान्तिपूर्ण वातावरण बनाउन सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ ।—00—

Share:

सम्बन्धित समाचारहरु