जन्मदिनलाई जन्मगाउँको सेवामा रूपान्तरण गर्दै अध्यक्ष पोखरेल

-रेशम सापकोटा
भरतपुर–चितवनस्थित देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्चका अध्यक्ष पूर्णप्रसाद पोखरेलले आफ्नो शुभ जन्मदिनलाई औपचारिक उत्सवमा सीमित नगरी जन्मगाउँप्रतिको माया, आस्था र उत्तरदायित्वसँग जोड्दै सामाजिक सेवाको माध्यम बनाउनुभएको छ।

उहाँले माडी नगरपालिका वडा नम्बर ७ मा अवस्थित आफ्नै जन्मगाउँको ऐतिहासिक शिव मन्दिरलाई रु ५,१५५/- आर्थिक सहयोग प्रदान गर्दै मन्दिर संरक्षण र धार्मिक आस्थाको प्रवर्द्धनमा योगदान पुर्‍याउनुभएको हो। सो सहयोग आजै मन्दिर व्यवस्थापन समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।


जन्म दिएको माटो, गाउँको संस्कार र आस्थाप्रतिको सम्मानलाई व्यवहारमै उतार्दै अध्यक्ष पोखरेलले जन्मदिनलाई सेवासँग जोड्नु भएको यो कदम स्थानीय समुदायका लागि प्रेरणाको विषय बनेको छ। जन्मगाउँसँग भावनात्मक सम्बन्ध राख्दै उहाँले गरेको यो योगदानले “जहाँ जन्मियो, त्यहीँ केही गर्नुपर्छ” भन्ने सामाजिक सन्देश समेत दिएको छ। यसै अवसरमा देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्चका कार्यसमिति सदस्यहरूले शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आउनुभएका पुर्व शिक्षक समेत रहनुभयका राजेन्द्र बराललाई सम्मान गरिएको छ।

समाज रूपान्तरणमा शिक्षाको भूमिका महत्वपूर्ण हुने विश्वाससहित गरिएको यो सम्मानले गाउँको बौद्धिक व्यक्तित्वप्रति सम्मान र कृतज्ञता व्यक्त गरेको छ। पछिल्लो समय देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्चले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना जन्मथलो र आसपासका बस्तीहरूमा मन्दिर संरक्षण, शिक्षा, सामाजिक सहयोग र सामुदायिक एकतासँग जोडिएका विभिन्न कार्यहरू निरन्तर गर्दै आएको छ। शहरमा रहे पनि गाउँसँगको नाता नछुटोस् भन्ने भावनासहित मञ्चले गाउँको विकास र सामाजिक सशक्तीकरणमा आफ्नो भूमिका निर्वाह गर्दै आएको देखिन्छ।

अध्यक्ष पूर्णप्रसाद पोखरेलको जन्मदिनको अवसरमा गरिएको यो सहयोग र सम्मान कार्यक्रमले उहाँको जन्मगाउँप्रतिको गहिरो प्रेम संगै, संस्थामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने दृढ प्रतिबद्धता पनि स्पष्ट रूपमा उजागर गरेको छ । –00–

Share:

सम्बन्धित समाचारहरु