चितवन । आगामी पौष २५ गतेदेखि टिकौली चौरमा सुरु हुने रत्ननगर महोत्सवको १३औँ संस्करण यसपटक विशेष गरी मह उत्पादन, बजारीकरण र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर आयोजना हुँदैछ । महोत्सवको मुख्य आकर्षणका रूपमा जनकपुरस्थित रामजानकी मन्दिरको आकृतिमा निर्माण गरिने भव्य गेट रहनेछ ।
‘रत्ननगर महोत्सव हाम्रो पहिचान, कृषि र पर्यटन प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा पौष २५ देखि माघ ६ गतेसम्म टिकौली चौरमा महोत्सव हुन लागेको हो । रत्ननगर नगरपालिकाको संरक्षकत्वमा आयोजना हुने महोत्सवले कृषि, पर्यटन, कला–संस्कृति र व्यापारलाई प्राथमिकतामा राख्दै समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य लिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
यसपटक महोत्सवभित्रै दोस्रो चितवन मह उत्सव पनि आयोजना गरिने संघका अध्यक्ष शंकर गिरीले बताए । मह उत्पादन, गुणस्तर अभिवृद्धि र बजारीकरण प्रवर्द्धनका लागि छुट्टै परिसर निर्माण गरिने उनले जानकारी दिए । यसले मौरीपालन तथा महजन्य उद्योगलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले टिकौली चौरलाई स्थायी प्रदर्शनी मैदानका रूपमा विकास गर्न सरकारसँग माग समेत गरेका छन् । कानुनी झन्झटबिनै मेला–महोत्सव सञ्चालन गर्न सकिने गरी टिकौली चौरलाई व्यवस्थित प्रदर्शनी स्थल बनाइनुपर्ने उनको भनाइ छ ।
महोत्सवअन्तर्गत युवालाई लक्षित गर्दै रोजगार मेला २०८२ पनि सञ्चालन गरिनेछ, जसले रोजगार खोज्ने युवा र रोजगारदाताबीच सेतुको काम गर्ने संघले जनाएको छ । विगत दुई दशकदेखि हरेक दुई वर्षमा आयोजना हुँदै आएको यो महोत्सवको १३औँ संस्करणमा चार लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने र २५ करोड रुपैयाँभन्दा बढी कारोबार हुने अनुमान गरिएको संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले बताए । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी करिब ४५० स्टलहरू रहनेछन् ।
उद्योग, व्यापार, कृषि उत्पादन, स्थानीय कला–संस्कृति र पर्यटकीय सामग्रीको प्रदर्शनीसँगै महोत्सवको प्रवेशद्वारमा पहिलोपटक रामजानकी मन्दिरको आकृतिमा भव्य गेट निर्माण गरिनेछ । साथै थारू, मगर, गुरुङ, दराई, माझी, तामाङ र कुमाल समुदायका परम्परागत सांस्कृतिक घरहरू निर्माण गरिनेछन् । ‘बिर्सनु हुँदैन बाजेबजैको स्वाद, जोगाऔँ रैथाने संस्कृति र परम्परागत याद’ भन्ने नारासहित रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा विशेष जोड दिइनेछ ।
बालबालिकाका लागि फनपार्क, विभिन्न जातीय खाना र परिकार समेटिएको ‘छैटौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव’ पौष २९ देखि माघ ४ गतेसम्म सौराहा चोक बसपार्कमा आयोजना हुने संघका पूर्वअध्यक्ष तथा खाना महोत्सव संयोजक ज्ञानबहादुर विसुरालले जानकारी दिए ।
कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै बृहत् कृषि प्रविधि प्रदर्शनी अन्तर्गत केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, मह र रैथाने बालीको प्रदर्शन तथा बजारीकरण गरिनेछ । महिलाहरू, फरक क्षमता भएका व्यक्ति र स्थानीय कृषकका उत्पादनका लागि निःशुल्क स्टल व्यवस्था गरिने संघका महासचिव उपेन्द्रशर्मा आचार्यले बताए । साथै कृषि तथा पशुपालनसम्बन्धी कार्यशाला र गोष्ठीहरू पनि सञ्चालन हुनेछन् ।
मनोरञ्जनतर्फ राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुति, आदिवासी जनजातिका भेषभूषा र नृत्य प्रदर्शन रहनेछ । उद्घाटनको दिन विभिन्न संघ–संस्थाको सहभागितामा बाजा र झाँकीसहितको शोभायात्रा समेत निकालिनेछ । सुरक्षाका लागि अत्याधुनिक सिसिटिभी निगरानी र पाँच करोड रुपैयाँ बराबरको बीमा व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले निजी क्षेत्रले ८७ प्रतिशत रोजगारी सिर्जना गरिरहेको उल्लेख गर्दै लगानी सुरक्षामा राज्य अझ जिम्मेवार हुनुपर्ने बताए । आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको रत्ननगर महोत्सवलाई राज्यस्तरबाट थप प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ थियो ।–00—


