चितवन — चितवनको सौराहामा आयोजना हुन लागेको हात्ती महोत्सवको पुनर्विचार गर्न पशु अधिकारकर्मी तथा यस क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाले आह्वान गरेका छन्। उनीहरूले आज संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै हात्तीको कल्याण र अधिकारलाई प्राथमिकतामा राख्न माग गरेका हुन्।
संयुक्त विज्ञप्तिमा २७ वटा संघसंस्थाले हात्तीलाई मनोरञ्जनको साधनका रूपमा प्रयोग गर्नु अनुचित भएको उल्लेख गर्दै हानिकारक पदार्थको प्रयोग रोक्न, हात्तीको प्राकृतिक स्वरूप र व्यवहारको सम्मान गर्न तथा हात्ती फुटबल र पेनाल्टीजस्ता गतिविधि तत्काल बन्द गर्न माग गरेका छन्।
पशु अधिकारकर्मीका अनुसार हात्तीहरूको कल्याणस्तर सुधारका केही प्रयास भए पनि सार्वजनिक कार्यक्रम र मनोरञ्जनका लागि हात्तीलाई दिइने प्रशिक्षण प्रक्रिया अप्राकृतिक, अमानवीय र क्रूर हुने गरेको छ। र्याली, सुन्दरी प्रतियोगिता, खेलकुद तथा अन्य महोत्सव गतिविधिका लागि हात्तीलाई तयार पार्ने क्रममा उनीहरूमा तनाव, डर र पीडा उत्पन्न हुने र यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने विज्ञप्तिमा उल्लेख छ।
हात्ती अत्यन्त बौद्धिक, सामाजिक र संवेदनशील प्राणी भएको जनाउँदै पर्यटन प्रवर्द्धनको नाममा उनीहरूको गरिमा र प्राकृतिक व्यवहारको बलिदान दिन बाध्य नबनाउन चेतावनी दिइएको छ। साथै, हात्ती सुन्दरताको नाममा प्रयोग गरिने सेतो चकमा क्याल्सियम सल्फेट वा क्याल्सियम कार्बोनेट हुने भएकाले त्यसको धुलोले आँखा र छालामा असर पार्ने बताइएको छ। त्यसैगरी, रातो सिन्दुर–अविरमा सीनाबारबाट बनाइएको रङ प्रयोग नगर्न पनि अनुरोध गरिएको छ।
विज्ञप्तिमा सरकार, पर्यटन निकाय, महोत्सव आयोजक तथा प्रायोजकहरूलाई मनोरञ्जनभन्दा संरक्षण र प्राकृतिक व्यवहारलाई प्राथमिकता दिँदै हात्तीमैत्री नैतिक पर्यटनतर्फ रुपान्तरण गर्न आग्रह गरिएको छ।
चितवनको सौराहामा यही डिसेम्बर २६ देखि २८ गतेसम्म ‘चितवन हात्ती तथा पर्यटन महोत्सव’ आयोजना हुने तय भएको छ।


