चितवनमा ‘स्वराञ्जलीः शहीदहरूमा समर्पित’ संगीतात्मक श्रद्धाञ्जली कार्यक्रम हुँदै

चितवन ।  जेन-जी समूह चितवनको आयोजनामा यही पौष १२ गते दिउँसो ४ बजेदेखि भरतपुर–२४, चौविसकोटीमा “स्वराञ्जलीः शहीदहरूमा समर्पित” शीर्षकको Musical Tribute Program आयोजना हुने भएको छ।

भाद्र २३ र २४ गते सम्पन्न जेन-जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सम्पूर्ण शहीदहरूको स्मृतिमा कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। करिब दुई घण्टा चल्ने उक्त कार्यक्रममा स्थानीय जेन-जी संगीतकार, जेन-जी तथा युवा अभियन्ताहरूले विद्रोह, सम्झना र नयाँ आशाका गीत, कविता तथा गजलहरू प्रस्तुत गर्नेछन्।

कार्यक्रममा चलचित्र बलिदान  का चर्चित गीतहरू “गाउँ गाउँबाट उठ”, “एउटा मरेर जान्छ” र “हाम्रो नेपालमा” सहित मोनिका थापाको “कलिका छाती”, विपुल क्षत्रीको “आशिष” लगायत १० भन्दा बढी गीतहरू प्रस्तुत गरिनेछ। साथै केही कविता तथा गजल वाचन पनि समावेश रहनेछ।

कार्यक्रममा सहभागिताका लागि देशभरिका जेन-जी अगुवा तथा समूहहरूलाई आह्वान गरिएको छ। काठमाडौंका केही समूहहरूले सहकार्य र सहभागिताका लागि प्रस्ताव गरिसकेको जेन-जी समूह चितवनले जानकारी दिएको छ।आयोजकका अनुसार उक्त कार्यक्रम शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै युवा पुस्तालाई एकताबद्ध गर्दै परिवर्तन र आशाको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको हो। –00–

Share:

सम्बन्धित समाचारहरु