रेशम सापकोटा
चितवन – माडी नगरपालिका भित्र लामो समयदेखि लोपोन्मुख बोटे समुदायको बसोबास रहँदै आएको पाइन्छ। खोलानदी, जंगल र प्रकृतिसँग नजिक रहेर जीवनयापन गर्ने बोटे जाति आज पनि आफ्नो मौलिक पहिचान, संस्कृति र परम्परालाई जोगाउँदै माडीका विभिन्न वडामा फैलिएको छ। नगरपालिकाभित्र हाल छवटा वडामा बोटे समुदायको उल्लेखनीय उपस्थिति देखिन्छ, जसको कुल जनसङ्ख्या करिब १ हजार ७ सय १९ जना रहेको अनुमान गरिएको छ।
माडी नगरपालिका वडा नम्बर १ अन्तर्गत बनकट्टा क्षेत्रको बोटे टोललाई जनसङ्ख्याको हिसाबले ‘बोटेको राजधानी’कै रूपमा चिनिन्छ। यहाँ मात्रै करिब १२० घरधुरी रहेका छन् र जनसङ्ख्या झण्डै ६ सय जनाको हाराहारीमा छ। यही वडाको पाण्डवनगर क्षेत्रमा करिब ४० घरधुरीमा ३३० जना बोटे समुदायका मानिस बसोबास गर्छन् भने लक्ष्मनियामा ७ घरधुरीमा ३१ जना रहेका छन्। वडा नम्बर २ को भैरवपुरमा २० घरधुरीमा करिब १ सय जना, वडा नम्बर ३ को पौवारीमा ४१ घरधुरीमा १८५ जना र सोही वडाको बेलुवामा २० घरधुरीमा १०० जना, वडा नम्बर ६ को हरिनगरमा ३ घरधुरीमा करिब २० जना, वडा नम्बर ८ को घागर क्षेत्रमा १३ घरधुरीमा ४८ जना र वडा नम्बर ९ अन्तर्गत गणेशकुञ्ज, कृष्णनगर र कान्छी बगैं क्षेत्रमा क्रमशः ३० घरधुरीमा १३० जना, १३ घरधुरीमा ६५ जना र २२ घरधुरीमा ११० जना बोटे समुदायका मानिसहरूको बसोबास रहेको छ।

परम्परागत रूपमा खोलानदीको किनारमा घर बनाएर बस्ने, जंगल र नदीसँग नजिक रहने र माछा मारेर जीविकोपार्जन गर्ने बोटे समुदायको जीवनशैली पछिल्लो समय क्रमशः परिवर्तन हुँदै गएको छ। पहिले जंगल र नदी नै जीवनको मुख्य आधार भए पनि अहिले उनीहरू सरकारी जागिर, वैदेशिक रोजगार, व्यवसाय, पशुपालन र कृषिमा समेत संलग्न हुन थालेका छन्। नेपालभर करिब १५ हजार जनसङ्ख्या मात्रै रहेको बोटे समुदाय लोपोन्मुख जातिको सूचीमा पर्दछ।
संस्कृति र परम्पराको दृष्टिले बोटे समुदाय प्रकृतिसँग अत्यन्तै नजिक छ। उनीहरूको धर्म प्रकृतिमै आधारित छ। खोला, नदी, वनस्पति र दैनिक जीवनसँग जोडिएका वस्तुहरूको पूजा गर्ने उनीहरूको चलन छ। बाँस, कुरिलो जस्ता वनस्पतिको पूजा गर्नु उनीहरूको धार्मिक परम्पराको हिस्सा हो। दशैं, तिहार र तीज जस्ता नेपाली पर्व उनीहरूले आफ्नो ठाउँअनुसार मनाए पनि बोटे समुदायको मुख्य पर्व साउने संक्रान्ति हो। साउने संक्रान्तिलाई उनीहरूले नयाँ वर्षका रूपमा समेत मनाउने गर्छन्। यस अवसरमा खोला–नदीको पूजा गरिन्छ र आफन्त तथा इष्टमित्रहरूलाई बोलाएर माछाबाट बनेका विभिन्न परिकार खुवाउने चलन छ, जुन उनीहरूको सांस्कृतिक पहिचानसँग गहिरोसँग जोडिएको छ।

बोटे समुदायको आफ्नै मौलिक भाषा र संस्कृति भए पनि हालसम्म कुनै लिखित साहित्य विकसित हुन सकेको छैन। भाषा र संस्कृतिको जगेर्नाका लागि हालै मात्र वर्ण निर्धारणको काम सुरु भएको छ। मृत्यु संस्कारमा पनि उनीहरूको फरक परम्परा रहेको छ। कुनै पनि व्यक्तिको मृत्यु भएपछि पाँच दिनसम्म कठोर किसिमले क्रिया बस्ने चलन छ। घरभित्र क्रिया नगरी बाहिर छाप्रो बनाएर बालुवामा सुत्ने परम्परा रहेको छ। क्रियाकर्ममा पण्डितको आवश्यकता नपर्ने र ज्वाई–चेलाको भूमिका महत्वपूर्ण रहने गर्दछ। क्रियाकर्म अत्यन्त कठिन हुने भएकाले वार्षिक श्राद्ध नगर्ने चलनसमेत रहेको छ।
२०७७ सालदेखि वडा नम्बर १ अन्तर्गत बनकट्टा क्षेत्रको बोटे टोलमा बोटे सामुदायिक होमस्टे सञ्चालनमा आएपछि भने समुदायको जीवनशैलीमा नयाँ आशा थपिएको छ। करिब ७० जनासम्मको पाहुना क्षमता रहेको यस होमस्टेमार्फत बोटे समुदायले आफ्नो संस्कृति, नाच, खानपान र जीवनशैली प्रत्यक्ष रूपमा प्रस्तुत गर्दै आएका छन्। स्थानीय अगुवा जगनारायण बोटेका अनुसार होमस्टे सञ्चालनले बोटे समुदायको भाषा र संस्कृतिको संरक्षणमा ठूलो टेवा पुगेको छ। “पहिचान जोगाउने माध्यम बनेको छ होमस्टे,” उनी भन्छन्।

नाचगानमा पनि बोटे समुदायको आफ्नै विशिष्टता छ। जग्य नाच, मछ्यौली नाच, गोदेली नाच तथा सोल्टी–सोल्टिना नाच उनीहरूको सांस्कृतिक पहिचान हुन्। विशेषगरी मछ्यौली नाच चाडपर्वमा बढी नाचिने गर्दछ । पोशाकमा अन्य जनजातिसँग मिल्दोजुल्दो भए पनि आफ्नै मौलिकता झल्किने खालका कपडाहरू प्रयोग गरिन्छ।
माडी प्रज्ञा प्रतिष्ठानले लोपोन्मुख समुदाय लगायत सबै जातिहरूको भाषा, धर्म, संस्कृति, पर्व, रीति–रिवाज, चालचलन र धार्मिक क्षेत्रको संरक्षणमा विशेष जोड दिएको छ। प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाका अनुसार सबै समुदायको मौलिकता जोगाउनु नै प्रतिष्ठानको प्रमुख उद्देश्य हो। “हामी जातजाती र सांस्कृतिक विविधताको संरक्षणमा निरन्तर लागिपर्नेछौं, ताकि बोटे समुदायको जीवनशैली र सांस्कृतिक सम्पदा भावी पुस्तासम्म सुरक्षित रहोस्,” अध्यक्ष सापकोटा भन्नुहुन्छ ।
त्यसैगरी माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतोले सबै समुदायको संरक्षण र प्रवर्द्धनलाई नगरपालिका प्राथमिकतामा राखेको बताउँदै भन्नुहुन्छ, “बोटे समुदायको दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान, भौतिक पूर्वाधारको विकास, सांस्कृतिक पहिचानको संरक्षण र आर्थिक सशक्तीकरणमा हामी निरन्तर लागिपर्नेछौं। प्रकृतिसँग गाँसिएको बोटे समुदायको जीवनशैली माडीको पहिचान हो र यसको संरक्षण नगरपालिकाको दायित्व हो।”
प्रकृति, संस्कृति र परम्पराको त्रिवेणीका रूपमा रहेको बोटे समुदाय आज परिवर्तनको यात्रामा भए पनि आफ्नो मौलिक पहिचान जोगाउने संघर्षमा दृढ देखिन्छ। माडी नगरपालिका र सम्बन्धित निकायहरूको सहकार्यले यो लोपोन्मुख समुदायको भाषा, संस्कृति र जीवनशैली भावी पुस्तासम्म सुरक्षित रहने देखिन्छ । –00—

