इच्छाकामना । इच्छाकामना गाउँपालिका–२ तेस्रे मायाटारमा नयाँ होमस्टे ‘तेर्से हिलटप’ संचालनमा आएको छ।
कालिका नगरपालिका–९ का श्रीनारायण श्रेष्ठ ‘विकल्प’ले होमस्टे स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन्। होमस्टेको उद्घाटन इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गर्नुभयो। कार्यक्रममा अध्यक्ष गुरुङले इच्छाकामनामा तीव्र रूपमा विकासको आधार तयार हुँदै गएको बताउँदै पर्यटन र आतिथ्य व्यवसायमा लगानीको ठूलो सम्भावना रहेको टिप्पणी गर्नुभयो।
मोटरबाटो, विजुली र उत्पादनमा सुधार भइरहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले “यो सुन्दर डाँडाबाट देखिने दृष्यले पर्यटक सहजै आकर्षित गर्छ, युवाले नहिचकिचाई लगानी बढाउनुपर्छ,” भन्नुभयो। उहाँले सिराइचुलीलाई व्यवस्थित बनाउने काम अन्तिम चरणमा पुगेको तथा इच्छाकामना मन्दिर, लामो झरना लगायतका स्थानहरूको प्रवर्द्धनका लागि गाउँपालिका लागिरहेको जानकारी समेत दिनुभयो। गाउँपालिकाले पर्यटन तथा व्यवसायिक लगानीको सुरक्षामा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

उद्घाटन कार्यक्रममा कालिका नगरपालिकाका संस्थापक मेयर खुमनारायण श्रेष्ठ ‘गोपी’, इच्छाकामना–२ का वडा अध्यक्ष पन्चबहादुर प्रजा, वडा सदस्य एकबहादुर गुरुङ, आधारभूत विद्यालय मायाटारका प्रधानाध्यापक पदमबहादुर चेपाङलगायतको उपस्थिति थियो।
सञ्चालक श्रेष्ठका अनुसार होमस्टे सञ्चालनका लागि १५ वर्षका लागि वार्षिक ३० हजार रुपैयाँ भाडामा लिएर संरचना निर्माण गरिएको हो। हाल ४ वटा एटेच्ड बाथरुमसहितका कोठाबाट सेवा सुरु गरिएको छ। स्थानीय उत्पादनलाई प्राथमिकता दिंदै सिलौटामा मसला पिसेर खानाको व्यवस्था गरिने उहाँले बताउनुभयो । हाल थकाली खाना प्रति व्यक्ति ३५० रुपैयाँ र सादा खाना २५० रुपैयाँ दर तोकिएको छ। लोकल भाले, सब्जी, दालभातसहितका परिकार उपलब्ध हुनेछन्। कोठाको भाडा प्रतिकोठा १५ सय रुपैयाँ राखिएको छ भने एउटा कोठामा ६ जनासम्म बस्न सकिने व्यवस्था गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिनभयो ।
ग्राहकको सुझावअनुसार आगामी दिनमा सेवा र दररेट परिमार्जन गरिने होमस्टे संचालकको भनाइ छ।–00—


