काठमाडौं । विवेकशील–साझा पार्टीकी महासचिव रहिसकेकी रञ्जु दर्सना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छिन्। पार्टी प्रवेश कार्यक्रममा उनले आफूहरू रास्वपाभित्र कुनै प्रकारको अस्थिरता वा विवाद सिर्जना गर्न नभई “मिलेर काम गर्न” आएको बताइन्।
दर्शनाले विगतका टुटफुटबाट निकै ठूलो राजनीतिक पाठ सिकेको उल्लेख गर्दै अबको राजनीति जुट्ने दिशामा जानुपर्ने आवश्यकता औँल्याइन्। “हामी भाँडभैलो मच्चाउन आएका होइनौँ। टुटफुटबाट पर्याप्त पाठ सिकिसकेका छौँ,” उनले भनिन्।
आफू १७ वर्षको उमेरदेखि राजनीतिमा लागिरहेको स्मरण गर्दै उनले विवेकशील–साझाबाट बनेको राजनीतिक जगमा टेकेर रास्वपाले छोटो समयमा संसदमा प्रभावशाली हस्तक्षेपकारी भूमिका निभाएकोमा प्रशंसा गरिन्। “ठूला पार्टीले गर्न नसकेको काम रास्वपाले गर्यो। रवि लामिछानेले सक्षम दिमागहरूलाई एक प्लेटफर्ममा ल्याएर संसदमा पुर्याउनुभयो,” दर्सनाले भनिन्।

आगामी चुनावमा रास्वपाले बहुमत प्राप्त गर्नुपर्ने उनको दाबी छ। बहुमतका माध्यमबाट मात्रै देशले एक दशकभित्र आर्थिक उन्नतिको गति लिन सक्ने विश्वास उनले व्यक्त गरिन्।
स्वतन्त्र रूपमा राजनीति गर्ने सोच राख्ने युवाहरूलाई पनि संगठनभित्र आएर काम गर्न उनले आग्रह गरिन्। “स्वतन्त्र उम्मेदवार धेरै देख्यौं। तर संगठनमै आएर काम गरे मात्रै परिणाम देखाउन सकिन्छ,” उनले भनिन्।
उनले पुनः जोड दिइन्, “हामी भाँडभैलो गर्न आएका होइनौँ, मिल्नैपर्छ भन्ने बुझेर आएका हौँ।”–00–


