दुर्गादत्त पौडेल –
चितवन । देश र जनतालाई उचाइमा पु-याउने दृढ संकल्पका साथ नेकपा एमाले र वर्तमान प्रधानमन्त्री, सम्माननीय अध्यक्ष के.पी. शर्मा ओलीले देखाउनुभएको भिजन, उहाँले छोटो समयमै अघि सार्नुभएको विकासका योजना र राष्ट्रप्रतिको अडान स्वयं प्रमाणित छन्। उहाँका ठोस निर्णय, निर्देशन र दूरदर्शी योजनाले देशले कति दिशातर्फ अघि बढ्न सक्छ भन्ने स्पष्ट देखाएको छ। यही कारण आजको जटिल परिस्थितिमा पनि देश र जनताको वास्तविक माग सम्बोधन गर्न सबभन्दा सक्षम र प्रतिबद्ध शक्ति नेकपा एमाले नै हो भन्ने आवश्यकता झन् प्रस्ट हुँदै गएको छ।
यही सन्दर्भमा, नेकपा एमालेलाई एकताबद्ध, अनुशासित र उद्देश्यपूर्ण ढङ्गले अघि बढाउने जिम्मेवारी स्वभावतः अध्यक्ष ओलीकै काँधमा आएको छ। पार्टीले पनि गम्भीरता, समीक्षा र सामूहिक निर्णयका आधारमा विधि–विधानअनुसार अघि बढ्नु समयको माग बनेको छ।
सङ्घीय सरकारका केही काम सकारात्मक भए पनि स्थानीय तहमा कामको प्रभावकारिता समानरूपमा देखिन सकेको छैन। स्थानीय तहमा राम्रो काम गर्ने निकायलाई सम्मान र देश–जनताको पक्षमा काम नगर्नेहरूलाई जवाफदेही बनाउन नसक्दा, माथिल्लो सरकारका राम्रा काम पनि फिक्का बन्ने अवस्था देखिएको छ। स्थानीय प्रतिनिधि जनताको भोटबाट जिते पनि पार्टीको अनुशासन र मूल्य–मान्यतामा नबाँधिनु देशका लागि हानिकारक हुन सक्छ भन्ने कुरा बिर्सनु हुँदैन।
यही कारण, नेकपा एमालेको एघारौँ महाधिवेशनले स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्मका गम्भीर विषयमा विस्तृत छलफल गरी स्पष्ट, व्यवहारिक र दूरदर्शी निर्णय लिनैपर्छ। पार्टीभित्रका गलत प्रवृत्ति, गलत सोच, गुट–उपगुट, स्वार्थ–समूह र विधिविपरीत चल्ने प्रवृत्तिलाई पहिचान गर्दै, इमानदार नेता–कार्यकर्ताको उदय र राष्ट्रलाई निकास दिने कठोर कदम चाल्न महाधिवेशन सक्षम बन्नुपर्छ।

भदौ २३ र २४ का घटनाहरूको यथार्थ छानबिन, तथ्य–आधारित समीक्षा र घाइतेहरूको उपचारमा पार्टीले अग्रसरता देखाउनु पनि समयानुकूल दायित्व हो।
देशभर अनेकौँ नेता–कार्यकर्ता जनतासँग नजोडी नेताको छायाँमा घुम्ने, तल्लो तहमा गएर भन्दै–नभन्दै आलोचना गर्ने र प्रचार–प्रसारमा मात्र व्यस्त हुने प्रवृत्तिहरूले पार्टीलाई बलियो बनाउँदैनन्। कतिपय नेताहरू बैठकमा मौन बसेर टाउको हल्लाउने र क्यामेरा देखिरहेका बेला पार्टीविरुद्ध धारणा राख्ने प्रवृत्ति पनि सुधारको दायरामा पर्नैपर्छ।
यस एघारौँ महाधिवेशनका प्रतिनिधिहरूले नेकपा एमाले वास्तवमै सर्वहारा, गरिब, दुःखी र राष्ट्रवादीहरूको पार्टी हो भन्ने आत्मस्मरण गर्दै गम्भीरतापूर्वक छलफल र बहसमा उत्रिनुपर्छ। महाधिवेशन व्यक्तिगत जुगाको लडाइँमा सीमित नभई देश, जनता र भूगोलमा काम गरिरहेका भुईमान्छेहरूको भावना समेट्ने निर्णय केन्द्र बन्नुपर्छ।
निर्वाचित प्रतिनिधि पार्टीको अधिनस्त रही जनताको पक्षमा काम गर्ने संस्कार विकास होस्। गलतलाई सच्याउने, भ्रष्टाचारविरुद्ध कठोर उभिने, लोकतान्त्रिक शुशासन स्थापित गर्ने र निर्वाचन प्रणाली सुधार गर्दै अस्थिरताको मूल कारण पहिचान गर्ने व्यवहारिक परिवर्तनमा महाधिवेशन सक्षम बन्नुपर्छ।

भदौ २३–२४ का घटनापछि देखिएको वास्तविकता के हो भने—देश, जनता र लोकतन्त्रको रक्षामा नेकपा एमाले अडिग र सतिसालझैँ उभिएको छ। कतिपय स्वयंलाई ‘स्वतन्त्र’ भन्ने शक्तिहरू अस्थिरता फैलाउन फेरि सक्रिय बन्न खोजिरहेका छन्, जसको संकेत निर्वाचन आयोगमा देखिएको दल दर्ताको अस्वाभाविक भीडबाटै बुझिन्छ।
यही अवस्थाले जनतालाई बुझाउनु पर्ने सत्य के हो भने—देशको निकास, स्थायित्व र विकासको भरोसा नेकपा एमालेकै काँधमा छ। नेतृत्व र पङ्क्ति एउटै सूत्रमा बाँधेर जनताको विश्वास जित्ने उपक्रमलाई अझ सुदृढ बनाउनु आजको आवश्यकता हो।
अन्ततः, समस्या समाधान गर्ने शक्ति त हामी आफैँ हौँ। पार्टी, नेता, कार्यकर्ता—सबैको व्यवहार, अनुशासन, विचार, नीति र प्रतिबद्धता एकै दिशामा केन्द्रित बन्यो भने मात्र देशले मार्ग प्राप्त गर्न सक्छ। अहिलेको कठोर परिस्थितिमा देश र जनताको समस्या समाधान गर्ने दायित्व नेकपा एमालेकै काँधमा छ। अन्यथा न वजेस् वाँसुरी, न बचे वास—देश स्थिरता र विकासमा पुनः पछाडि पर्न सक्छ।–00—
लेखकः अखिल नेपाल किसान महासङ्घ केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्जहुनुहुन्छ ।


