चितवन । कालिका नगरपालिका–१० स्थित तीनदोभान क्षेत्रमा पक्की पुल निर्माण हुने भएको छ। उक्त पुलको शिलान्यास आज एक कार्यक्रमकाबीच नगर प्रमुख विनोद रेग्मीले गरेका छन् ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रमुख रेग्मीले पुल निर्माणलाई उच्च प्राथमिकतामा राखिएको बताए। इच्छाकामना गाउँपालिकासँग सडकमार्फत जोडिन सकिने भएकाले यो परियोजना महत्वपूर्ण रहेको उनले उल्लेख गरे। कयरखोलामा बारम्बार आउने बाढीले मानविय क्षति पुर्याउँदै आएको स्मरण गर्दै रेग्मीले जोखिम कम गर्न तथा आवागमन सहज बनाउन पुल र बाटो निर्माण दुवैलाई प्राथमिकतामा राखिएको जानकारी दिए।

उनका अनुसार पहाडी क्षेत्रका कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन सहज हुने, स्थानीय बासिन्दालाई सहरसम्मको पहुँच खुल्ने र समग्र आर्थिक गतिविधिमा टेवा पुग्ने उद्देश्यसहित पुल निर्माणको योजना अघि बढाइएको हो। कार्यक्रममा उप–प्रमुख विमला तामाङ, पूर्व मेयर खुमनारायण श्रेष्ठ ‘गोपी’, पूर्व उप–प्रमुख कमला भट्टराई, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी तथा प्राविधिकको उपस्थिति थियो।
नगरपालिकाका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर किशोर खतिवडाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारको शर्त–अनुदानमार्फत २ करोड रुपैयाँ बजेट विनियोजन भएको थियो। विस्तृत प्रतिवेदन (डीपीआर) तयार नभएकाले त्यतिबेला काम अघि बढ्न सकेन। पछि स्थलगत निरीक्षणसहित आवश्यक मापदण्ड पूरा गरी प्रतिवेदन तयार भएपछि योजना प्रक्रिया अघि बढाइएको हो।

२०८२ असार १७ गते निर्माण पक्षसँग ४ करोड ३८ लाख ६७ हजार ८५५ रुपैयाँ लागतमा पुल निर्माण गर्ने सम्झौता भएको छ। चालू आर्थिक वर्षमा कालिका नगरपालिकाले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। निर्माणाधीन पुल ४० मिटर स्पानको रहनेछ। पुलको दायाँ–बायाँ नदी नियन्त्रणका लागि ६०–६० मिटर एप्रोज निर्माण गर्ने प्रावधान सम्झौतामा उल्लेख छ। हाल जग निर्माण तथा रड हाल्ने कार्य भइरहेको छ। पुलको लम्बाइ १२.५ मिटर र चौडाइ ८.४ मिटर रहनेछ।
कालिका नगरपालिकाले पुल निर्माणले सडक सञ्जाल सुदृढ भई स्थानीयको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरेको छ। शिलन्यास कार्यक्रम कालिका नगरपालिका वडा नं. १० का वडा अध्यक्ष नरजंग प्रजाको अध्यक्षतामा आयोजना गरिएको हो ।
गाउँ जान आउन पक्की पुल बन्नेभएपछि स्थानीयहरु पञ्चेबाजा बजाएर खुशी मनाएका थिए ।



