व्यवसायी लक्षित मुटुरोग सचेतना कार्यक्रम चितवनमा सम्पन्न

चितवन, ४ मंसिर । नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखा, चितवन उद्योग वाणिज्य संघ तथा चेम्बर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा आज चितवन उद्योग वाणिज्य संघको सभाहलमा ‘मुटु तथा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम’ सम्पन्न भएको छ। “हरेक धड्कन जीवन हो, ख्याल गरौं” भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा विभिन्न स्वास्थ्य–सम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गर्दै चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यावसायिक जीवन अत्यधिक व्यस्त हुने भएकाले व्यवसायीले आफ्नो व्यक्तिगत स्वास्थ्यप्रति पर्याप्त ध्यान नदिन सक्ने उल्लेख गर्दै यस्ता कार्यक्रमहरुले स्वास्थ्यप्रतिको चेतना बढाउन सहयोग गर्ने बताए। उनले स्वास्थ्य हरेक प्रगतिको आधार भएको उल्लेख गर्दै सबैलाई स्वास्थ्यलाई प्राथमिकता दिँदै कार्य गर्न आग्रह गरे।

कार्यक्रमका प्रमुख बक्ता तथा मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीले मुटुरोगबाट बच्ने उपाय, हृदयघातका कारण, लक्षण तथा समस्या सम्बन्धी विषयमा विस्तृत प्रशिक्षण दिएका थिए। कार्यक्रममा सहभागीहरूको जिज्ञासाको पनि उनले प्रत्यक्ष जवाफ दिएका थिए।
त्यसैगरी चितवन मुटु अस्पतालका विशेषज्ञ डा. शंकर लौडारीले मुटु तथा मुटुरोगसम्बन्धी जानकारी प्रदान गर्दै मुटुरोगको सबैभन्दा प्रभावकारी उपचार नै समयमै गरिएको सचेतना भएको उल्लेख गरे।

कार्यक्रममा चेम्बर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भोजराज कौडाल, चितवन उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू महेन्द्रलाल प्रधान, देशीराम प्रधान, प्रचण्डलाल प्रधान, राजु श्रेष्ठ, नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखाका निर्वतमान अध्यक्ष अशोक अधिकारीलगायत विभिन्न संस्थाका पदाधिकारी तथा प्रतिनिधिसहित करिब ७० जनाको सहभागिता थियो।

नेपाल हृदयरोग प्रतिष्ठान चितवन शाखाका सभापति लिलाराज खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए।–00–

Share:

सम्बन्धित समाचारहरु