मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटना, ४२ भारतीय यात्रुको मृत्यु

काठमाडौं, १ मंसिर। साउदी अरबमा मक्काबाट मदिना जाँदै गरेको बस दुर्घटनामा परी ४२ जना भारतीय यात्रुको मृत्यु भएको छ। मृतकमध्ये २० महिला र ११ बालबालिका रहेका छन्।

सोमबार राति भारतीय समयअनुसार करिब १:३० बजे मदिनाबाट करिब १६० किलोमिटर दूरीमा पर्ने मुहरास नजिक दुर्घटना भएको हो। हैदराबादबाट तीर्थयात्रामा निस्किएका यात्रुहरू सवार बस डिजेल ट्याङ्करसँग ठोक्किँदा ठूलो आगलागी भएको प्रारम्भिक विवरणहरूमा उल्लेख छ। दुर्घटना हुँदा धेरै यात्रुहरू सुतिरहेको बताइएको छ, जसका कारण मानवीय क्षति अझ बढेको हो।

तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग लगातार समन्वय भइरहेको जनाएको छ। राज्य सरकारले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीमा रहेका अधिकारीहरूलाई दूतावाससँग समन्वय गरी पीडितहरूको पहिचान, उद्धार र आवश्यक औपचारिकतामा सहयोग गर्न निर्देशन दिएका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु