कालिकामा साना किसान सहकारीद्वारा उत्कृष्ट किसान, उद्यमी र विद्यार्थीलाई सम्मान

चितवन । साना किसान कृषि सहकारी संस्था कालिकाले पशुपालन तथा कृषिक्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने किसान तथा उद्यमीलाई सम्मान गरेको छ। संस्थाको १६औँ साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा खादा ओढाइ सम्मानको प्रतीकस्वरूप दुध राख्ने क्यान तथा स्प्रे पम्प वितरण गरिएको हो।

पशुपालन क्षेत्रका सफल उद्यमीका रूपमा कालिका वडा नं. २ की सावित्रि सापकोटा र वडा नं. ५ की लालुमाया कुवरलाई सम्मान गरिएको छ। दुध संकलन तथा बिक्री–वितरणमा सहजता होस् भन्ने उद्देश्यासाथ सहकारीले उनीहरूलाई दुध राख्ने क्यान प्रदान गरेको थियो।

यसैगरी कृषि तथा तरकारी–फलफूल उत्पादनमा अग्रसर किसानका रूपमा कालिका वडा नं. ५ का मधु ढकाल र वडा नं. २ की संगीता भण्डारीलाई सम्मान गरिएको छ। उनीहरूलाई उत्पादन कार्यमा सहयोग पुग्ने गरी स्प्रे पम्प प्रदान गरिएको हो।

यसैबीच साना किसान उत्कृष्ट सहकारी वर्षको रूपमा संस्थाका मुख्य प्रबन्धक उत्तम राज पन्तलाई कार्यसम्पादन र संस्थागत विकासमा गरेको योगदानका लागि दोसल्ला, सम्मानपत्र तथा ५ हजार रुपैयाँ नगद सहित सम्मान गरिएको छ।

एसईईमा उत्कृष्ट विद्यार्थी सम्मान –

संस्थाका शेयर सदस्यका सन्तानमध्ये एसईई २०७८ (२०८१ सालको प्रतिरूप) मा उत्कृष्ट प्रदर्शन गर्ने दुई विद्यार्थीलाई पनि सम्मान गरिएको छ।

  • सुचता श्रेष्ठ, भीमोदय उच्च माध्यमिक विद्यालय — GPA 3.87

  • हेमान्सु थापा, सोही विद्यालय — GPA 3.85

उनीहरूलाई जनही २ हजार रुपैयाँ सहित सम्मान गरिएको हो।

यसैबीच नियमित रुपमा बालबचत गर्दै आएका लक्ष्मी पोख्रेल र सकुन्तला मर्दनियालाई पनि खादा र नगद सहित सम्मान गरिएको छ।

ज्येष्ठ नागरिक तथा एकल महिलासमेत सम्मानित

सहकारीको सामाजिक उत्तरदायित्वअन्तर्गत ज्येष्ठ नागरिक र एकल महिलालाई पनि सम्मान गरिएको सहकारीले जानकारी दिएको छ।

साधारण सभाको उद्घाटन गर्दै कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले सहकारीको विकाससँगै महिलामा आत्मनिर्भरता बढ्न थालेको उल्लेख गरे। उनले सक्षम नेतृत्व र एकताको कारण साना किसान कृषि सहकारीले नगर क्षेत्रको कृषि विकासमा महत्वपूर्ण योगदान दिएर समुदायमा राम्रो उदाहरण प्रस्तुत गरेको बताए।

नगरप्रमुख रेग्मीले सहकारीको माग अनुसार सभा हल निर्माणमा नगरपालिकाले सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए। आर्य आर्जन र उत्पादनका लागि कालिकाको भूगोलले पनि साथ दिएको बताए । देशमा कुनैपनि ठाउँमा यस्तोखालको सबै कुरा मिलेको ठाउँ छैन उनले भने  – बाटोको पहुँच, उत्पादन योग्य माटोका कारण पशुपालन र खेतीबालीमा हामीले नसोचेको प्रगतिगर्न सकिन्छ ।

पदमपुर क्षेत्रलाई जीपिएस प्रणाली मार्फत घरहरुलाई एकीकृतगर्ने योजनाका साथ कालिका नगरपालिका अगाडी बढिरहेको जानकारी दिए ।  विश्वमा भइरहेको प्रविधिको विकास र प्रयोगलाई हामीले पनि पच्छाउँदै जाने तयारीमा जुटेका छौं संवोधनको क्रममा भने ।

साना किसान विकास लघुवित्त संस्था लिमिटेड, हेटौंडा शाखाका प्रमुख भोलानाथ रेग्मीले सहकारी र लघुवित्तबीचको सहकार्य, ऋण प्रक्रिया तथा व्याजदरको वर्तमान स्थितिबारे जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहकारीकी उपाध्यक्ष विष्णुमाया अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन्। अध्यक्ष गोमा सिंखडाले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन तथा प्रबन्धक शिलामाया बस्नेतले प्रस्तुत गरेको लेखा परीक्षण प्रतिवेदन साधारण सभाले सर्वसम्मतिले पारित गरेको छ।

लेखा समिति संयोजक बिमला अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रम संस्थाकी अध्यक्ष गोमा सिंखडाको अध्यक्षतामा सम्पन्न भएको थियो। –00–

Share:

सम्बन्धित समाचारहरु