काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बोर्डको आज बसेको बैठकले परीक्षाको नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो। बोर्डका अनुसार यस वर्षको पूरक परीक्षामा ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
गत असोज ७ र ८ गते सञ्चालन गरिएको उक्त परीक्षामा कुल १ लाख ४ हजार २६ जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ७६ हजार ३ सय ६७ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने ४ जनाको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ।
यसअघि ११ साउनमा प्रकाशित नियमित नतिजामा ६१.१७ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।
विद्यार्थीहरूले पूरक परीक्षाको नतिजा नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर हेर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।–00–


