निकोलस भूसाल गोरखाबाट पक्राउ

काठमाडौ । सामाजिक सञ्जालमा विवादास्पद अभिव्यक्ति दिएका निकोलस भूसाललाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई गोरखा नगरपालिका–८, सरस्वती आश्रम क्षेत्रबाट मंगलबार पक्राउ गरेको हो। प्रहरीले उनलाई अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी गरेको जनाएको छ।

भूसालले हालका प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायत राजनीतिक व्यक्तित्वहरूको नामसमेत उल्लेख गर्दै सामाजिक सञ्जालमा हिंसात्मक र उत्तेजनापूर्ण अभिव्यक्ति दिएका थिए। त्यसपछि प्रहरी उनको गतिविधि निगरानीमा राखिरहेको थियो।

यसअघि उनले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर गत भदौ २३ गते भएको “जेनजी आन्दोलन”का क्रममा भएको दमनबारे अभिव्यक्ति दिएका थिए। उक्त घटनामा एकैदिन १९ जनाको मृत्यु भएको थियो। भूसालले त्यस घटनाको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई दिँदै उनीहरूलाई “हत्यारा” संज्ञा दिएका थिए।

प्रहरीले भूसालमाथि सो अभिव्यक्तिका कारण सार्वजनिक शान्ति भंग र उत्तेजना फैलाउने अभिव्यक्ति दिएको अभियोगमा अनुसन्धान अघि बढाउने तयारी गरेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु