विराटनगर । अविरल वर्षापछि इलामका विभिन्न स्थानमा गएको भीषण पहिरोले कम्तीमा १८ जनाको ज्यान लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार शुक्रबार रातिदेखि लगातार परेको वर्षाका कारण पहिरोले घर बगाउँदा र पुरिँदा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अझै पनि केही व्यक्ति बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
इलाम जिल्लाका सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा मात्रै पाँच जनाको मृत्यु भएको छ । माङ्सेबुङ गाउँपालिका–१ पाटी गाउँमा तीन जनाको, देउमाई नगरपालिका–५ ढोरेमा एक जनाको र त्यही वडाको धुस्नेमा दुई जनाको ज्यान गएको इलाम प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा एक जनाको र इलाम नगरपालिका घोसगाउँमा छ जनाको मृत्यु पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए ।
माङ्सेबुङ गाउँपालिका–१ मा एक जना गर्भवतीसहित दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको भए पनि लगातारको वर्षा र खराब मौसमका कारण उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।
इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार उद्धारका लागि हेलिकप्टर पठाइए पनि खराब मौसमका कारण घटनास्थलसम्म पुग्न सकेको छैन । “याङ्शिला भन्ने स्थानमा हेलिकप्टर ल्याण्ड भएको छ तर घटनास्थलसम्म पुग्न कठिन भइरहेको छ,” प्रमुख जिल्ला अधिकारी नेपालले भनिन् ।
उनका अनुसार इलामका विभिन्न ठाउँमा अझै पहिरो खस्ने जोखिम कायम रहेको र मृतक तथा बेपत्ताको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

