हेटौँडा हुँदै काठमाडौं जाने सवारी तीन दिनका लागि बन्द

हेटौँडा — लगातार हुने पूर्वानुमान गरिएको भारी वर्षाको जोखिमका कारण हेटौँडा हुँदै काठमाडौं जाने सम्पूर्ण सवारीसाधनको आवतजावत तीन दिनका लागि रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न भागमा हल्कादेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले यस्तो निर्णय गरिएको हो।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठका अनुसार असोज १८, १९ र २० गते अत्यावश्यक बाहेकका सबै सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द रहनेछ। उनका अनुसार ती दिनमा अत्यधिक वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता विपद् आउन सक्ने उच्च जोखिम रहेको छ। सम्भावित क्षति न्यूनीकरणका लागि प्रशासनले यो निर्णय गरेको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले सवारी आवागमन बन्दका कारण यात्रुलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै घरमै सुरक्षित बस्न आग्रह गरेको छ। साथै, विपद् सम्बन्धी अद्यावधिक सूचना विभिन्न सञ्चार माध्यमबाट प्राप्त गर्न र सञ्चारकर्मीलाई निरन्तर सूचना सम्प्रेषण गर्न पनि अनुरोध गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु