कपिलवस्तु — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१, वनकसवासामा आज बिहान बस दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र ३६ जना घाइते भएका छन्।
धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.८ ख ५७०३ नम्बरको बस आज बिहान करिब ६ बजे दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।
दुर्घटनामा परेकी एक महिलाको मृत्यु भएको भए पनि उनको पहिचान खुल्न बाँकी रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्र सिंहले बताए। उनका अनुसार घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने अन्यको अवस्था सामान्य छ।
गम्भीर र मध्यम घाइते रहेका १५ जनालाई चन्द्रौटास्थित स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटना भएको स्थान राजमार्गको सामान्य मोड रहेको र बिहानको समयमा चालक निदाएको कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान ट्राफिक प्रहरीले गरेको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।–00–


