मतदाता नामावली ऐन संशोधन गर्न अध्यादेश जारी

काठमाडौं।
सरकारले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उक्त अध्यादेश जारी गरेका हुन्।

अध्यादेशमार्फत ऐनको दफा ४ मा भएको प्रावधान संशोधन गरिएको छ। यसअघि निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्न नमिल्ने व्यवस्था थियो। नयाँ अध्यादेशले भने प्रतिनिधिसभा कार्यकाल पूरा हुनुअघि विघटन भई निर्वाचन घोषणा भएको अवस्थामा निर्वाचन आयोगले तोकेको अवधिभित्र मतदाता नामावली संकलन, दर्ता वा अध्यावधिक गर्न सक्ने व्यवस्था गरेको छ।

युवाहरूको नाम छुट्ने समस्या समाधान

प्रतिनिधिसभा विघटनसँगै फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको छ। निर्वाचन घोषणा भएपछि नाम दर्ता रोकिँदा धेरै युवाहरू मतदाता सूचीबाट वञ्चित हुने अवस्था देखिएको थियो। त्यही समस्यालाई मध्यनजर गर्दै सरकारले अध्यादेश ल्याएको हो।

यससँगै अब नयाँ मतदाता बन्न चाहने र नामावलीमा नाम छुटेकाहरूलाई निर्वाचन आयोगले तोकेको अवधिभित्र नाम दर्ता वा अध्यावधिक गर्ने अवसर उपलब्ध हुनेछ।

Share:

सम्बन्धित समाचारहरु