मुग्लिन–नारायणगढ सडकखण्डमा ठुलो पहिरो, भोलिदिन दिउँसो मात्र सवारी सञ्चालन हुने अनुमान

चितवन 
मुग्लिन–नारायणगढ सडकखण्डको तुईन खोला क्षेत्रमा गएको ठूलो पहिरोले सडक आवागमन पूर्णरूपमा बन्द भएको छ । पहिरो हटाउने काम आज बिहान ६ बजेदेखि दुवैतर्फबाट सुरु भए पनि ढुंगामाटोको मात्रा अत्यधिक (१२ हजारदेखि १४ हजार घनमिटरको अनुमान) भएकाले काम सम्पन्न गर्न अझै समय लाग्ने भएको छ ।

सडक डिभिजन भरतपुरका अनुसार माथिबाट थप ठूलो पहिरो खस्ने सम्भावना कम भए पनि साना तथा मध्यम आकारका ढुंगाहरू अझै झर्न सक्ने खतरा रहँदै आएको छ । त्यस्तै, आवश्यक सावधानी अपनाउँदै उपकरण र जनशक्ति परिचालन गरी निरन्तर रूपमा पहिरो हटाउने कार्य भइरहेको छ ।

सडकमा थुप्रिएको माटो र ढुंगाको परिमाण धेरै भएकाले भोलिदिन दिउँसो मात्र सवारीसाधन सञ्चालन हुन सक्ने अनुमान गरिएको छ । यसबीच यात्रु तथा सवारीधनीलाई धैर्य राख्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।

त्यसैगरी, पहिरो हटाउने क्रममा कुरिनटार र भरतपुरबाट इन्धन तथा अन्य आवश्यक सामग्री बोकेका सडक विभागका गाडीहरू आवतजावत गर्ने भएकाले लेन अनुशासन कायम गरी सहकार्य गर्न यात्रु र सवारीचालकलाई आग्रह गरिएको छ ।

यात्रुहरूले प्रयोग गर्न सक्ने वैकल्पिक सडक मार्गको रूट नेभिगेसन हेर्नका लागि सडक डिभिजन भरतपुरले लिंक उपलब्ध गराएको छ ।

फाईल तस्विर

Share:

सम्बन्धित समाचारहरु