काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गत साता भएको जेन-जीको शान्तिपूर्ण प्रदर्शनका क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलेको दाबी गरेका छन्। उनले घटनाको गहिरो छानबिन गर्न सरकारसँग माग गरेका छन्।
संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै ओलीले प्रदर्शनमा घुसपैठ भएको र षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको आरोप लगाए।
ओलीले लेखेका छन्, “सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनुपर्छ।”
उक्त घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे। संविधान र सार्वभौमसत्तामाथि भइरहेको आक्रमणविरुद्ध सबै एकजुट हुनुपर्ने उनले जोड दिए।
हालैका घटनामा सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालयमा भएको तोडफोड र आगजनीलाई ओलीले षड्यन्त्रको संज्ञा दिएका छन्। उनका अनुसार यस्ता कार्यहरूले देशको सार्वभौमसत्ता र संविधानमाथि गम्भीर चुनौती खडा गरेको छ।–00–


