काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान नियमित सञ्चालन भइरहेको छ। महाप्रबन्धक हंशराज पाण्डेका अनुसार यात्रु आवागमन सहज बनाउन सुरक्षा निकायसँग समन्वय गरिएको छ।
निषेधाज्ञाका कारण यात्रुलाई परिचयपत्र र टिकट देखाएर मात्रै आवतजावत गर्न दिइने छ। नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकका लागि सटल बसको व्यवस्था गरेको छ भने वायुसेवा कम्पनीहरूले पनि आफ्ना यात्रुलाई सहजीकरण गर्दै आएका छन्।
‘जेनजी पुस्ता’का कारण भदौ २४ गतेदेखि बन्द भएको विमानस्थल बुधबार दिउँसो ३:३० बजेदेखि पुनः सञ्चालनमा आएको हो। हाल विमानस्थलमा दैनिक ३ सयभन्दा बढी उडान हुने गरेको छ, जसमा २१ आन्तरिक र ३० अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले सेवा दिइरहेका छन्।
–00–


