रेशम सापकोटा – सेतो नेपाल
चितवन । चितवनको दक्षिणी भागमा अवस्थित माडी उपत्यका धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक सम्पदाले धनी पावन भूमि हो।
यहाँ हरियालीले भरिएको प्राकृतिक वातावरण, माछापालन, पशुपालन, कृषि, धार्मिक स्थल र गाउँघरको मौलिक जीवनशैलीले माडीलाई पर्यटक लोभ्याउने गन्तव्य बनाएको छ। यही सम्भावनालाई अझ व्यवस्थित बनाउन माडी नगरपालिका–६ स्याउलीबासमा निर्माण भइरहेको छ ‘हिमालचुली नेचर फार्मस्टे’।

विगत चार वर्षदेखि ‘हिमालचुली नेचर फार्मस्टे’ का अध्यक्ष रश्मी पाण्डे र निर्देशक ध्रुव अधिकारीको अगुवाइमा अगाडि बढाइएको यो परियोजना हाल अन्तिम चरणमा पुगेको छ।
फार्मस्टे निर्माण गर्नुको मुख्य उद्देश्य आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै प्रकृति, कृषि, पशुपालन र संस्कृतिसँग जोडिएको अनौठो अनुभव उपलब्ध गराउनु हो।
यहाँ आउने पाहुनाले बस्ने–खाने संगै अध्ययन, अनुसन्धान, व्यवस्थापन तालिम, कृषि परीक्षण र वन्यजन्तु अवलोकन गर्ने अवसर पाउनेछन्। यसलाई सरसजावट मात्र नभई अनुसन्धान र ज्ञान आदान–प्रदानको केन्द्रका रूपमा समेत विकास गर्ने तयारी भइरहेको अध्यक्ष रश्मी पाण्डेले बताउनुभयो।
२० रोपनी (डेढ विघा) क्षेत्रमा फैलिएको फार्मस्टेअन्तर्गत किचन गार्डेन, फलफूल बगैंचा, बेमौसमी तरकारी उत्पादनका लागि टनेल, माछापालन, गाईभैंसी, बाख्रा र कुखुरापालनलाई मास्टर प्लानमै समावेश गरिएको छ।
करिब ४२ जना पाहुना एकैपटक बस्न सक्ने गरी चारवटा भवन निर्माण भइरहेका छन्। भवनहरूको मुख्य प्रवेश पूर्वतर्फ हुने भएकाले बिहानको घामसँगै शीतल हावा र सुरम्य दृश्य अवलोकन गर्न सकिनेछ। करेसाबारीलाई चिसो र मलिलो भूभागमा, आवास भवनलाई भ्यु हुने भागमा र विश्राम स्थललाई प्राकृतिक हावापानीअनुकूल राख्नेगरी योजनाबद्ध निर्माण भइरहेको छ।
यहाँ उत्पादन हुने मौसमी फलफूल, तरकारी, माछा, मासु र हर्बल चिया पाहुनाकै लागि प्रयोग गरिनेछ। भवन निर्माणमा एसी नलगाइए पनि ठूलो झ्याल, खपेटा टिन र स्थानीय काठको प्रयोगमार्फत प्राकृतिक रूपमा शीतल वातावरण प्रदान गर्ने डिजाइन गरिएको छ। यसरी आधुनिक प्रविधि र स्थानीय स्रोतबीचको समन्वयलाई प्राथमिकता दिएर पर्यटकका लागि आकर्षक वातानुकूलित आवास निर्माण भइरहेका छन्।
करिब १० करोड रुपैयाँ लागतमा बन्ने अनुमान गरिएको फार्मस्टे २०८२ साल असोज भित्र पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार आवश्यक स्थानीय सामग्री अपेक्षाभन्दा सस्तोमा उपलब्ध भएकाले लागत केही घटेको छ र निर्माण कार्य सहज गतिमा अघि बढिरहेको छ।

फार्मस्टेका संचालक कृषि प्राविधिक र वैज्ञानिकसमेत रहेका कारण स्थानीय कृषकलाई प्राविधिक सहयोग गर्ने, माटोलाई विषादी बिना कसरी उर्वर बनाउन सकिन्छ भन्नेबारे सचेतना फैलाउने र यहाँका युवालाई रोजगारी सिर्जना गर्ने महत्वपूर्ण आधार तयार गरिएको निर्देशक ध्रुव अधिकारीले बताउनुभयो।

उहाँका अनुसार बाह्य मात्र नभई आन्तरिक पर्यटकलाई पनि प्राथमिकता दिइनेछ र अनलाइन बुकिङ प्रणालीमार्फत सहज पहुँच उपलब्ध गराइनेछ।
‘हिमालचुली नेचर फार्मस्टे’ केवल अतिथि आवास संगै ज्ञान र सिप विकास गर्ने तथा अध्ययन–अनुसन्धान गर्ने स्थलका रूपमा विकास हुने योजना साथ काम अगाडि बढिरहेको छ।
हिमालचुली नेचर फार्मस्टे सञ्चालनमा आएपछि यो क्षेत्रको सांस्कृतिक,भाषिक र साहित्यिक गतिविधि अझ विस्तार हुने छ। यहाँ आउने पर्यटकले केवल प्राकृतिक सौन्दर्य र कृषि अनुभव सहित, माडीको मौलिक कला, संस्कृति र भाषासँग पनि नजिकिने अवसर पाउनेछन्। यसले माडीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउन ठूलो मद्दत गर्दछ ।
स्थानीय युवाले आफ्नो पहिचानमा गर्व गर्न सक्ने, कलाकार र साहित्यकारलाई सिर्जनशीलता प्रदर्शन गर्ने नयाँ मंच खुल्ने र गाउँमै रोजगारी र आय–आर्जनको सम्भावना बढ्नेछ। फार्मस्टेले पर्यटनसँगै हाम्रो भाषा, साहित्य र संस्कृति जोगाउने बलियो आधार तयार हुने विश्वास गर्नुहुन्छ माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटा।
यस्तो फार्मस्टे सञ्चालनमा आएसँगै माडी क्षेत्रको धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदाको प्रचार–प्रसार हुने छ। यहाँ आउने पर्यटकले कृषि र प्रकृतिसँग जोडिएको मौलिक जीवनशैली अनुभव गर्नेछन् भने स्थानीय बासिन्दाले प्रत्यक्ष रोजगारी र आय–आर्जनको अवसर पाउनेछन्।
कृषकका समस्या समाधान हुँदै जाने, युवाले गाउँमै व्यवसायिक भविष्य खोज्ने वातावरण बन्नेछ। यसरी, ‘हिमालचुली नेचर फार्मस्टे’ केवल फार्मस्टे मात्र नभई कृषि, संस्कृति, अनुसन्धान र पर्यटनको साझा केन्द्रको रूपमा स्थापित हुँदैछ, जसलाई सञ्चालकहरूले माडीको गहनाको रूपमा पहिचान गराउने विश्वास लिएका छन्।–00–

