बिजय खरेल – सेतो नेपाल
चितवन,१५ भाद्र – पुस्तकालय दिवसको अवसरमा आज आइतबार माडी नगरपालिकाको सभा हलमा ‘पुस्तकालय र पठन संस्कृतिको विकास’ विषयक विमर्श कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सहजकर्ता रहेका लेखक एवम् विश्लेषक डा. जीवन क्षेत्रीले पुस्तकालय र पढ्ने संस्कृतिको महत्वबारे गहन विमर्श गर्दै युवा, विद्यार्थी तथा भावी पुस्तामा पुस्तक अध्ययनको बानी विकास कसरी गर्ने भन्ने विषयमा प्रकाश पार्नुभयो। उहाँले सामाजिक सञ्जालको बढ्दो लतलाई कम गरी पत्रपत्रिका र पुस्तक अध्ययनतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।

माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजी महतो प्रमुख अतिथि रहनुभएको कार्यक्रममा उपमेयर खेम प्रसाद महतो विशिष्ट अतिथि, प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसाल, वडा अध्यक्षहरू, विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रमुख अतिथि नगर प्रमुख महतोले पुस्तकालयको महत्व समाज विकाससँग प्रत्यक्ष सम्बन्धित रहेको बताउँदै नगरपालिकाले पठन संस्कृतिको प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। प्रमुख प्रशासकीय अधिकृत भुसाल, वडा अध्यक्षहरू तथा विद्यालय प्रतिनिधिहरूले पनि आफ्ना धारणा राख्दै पुस्तकालयले नयाँ पुस्तालाई मार्गदर्शन गर्ने बताए।
यसैगरी, डा. भानेश्वर, हिमालचुली फार्मिस्टेका अध्यक्ष एवम् लेखक रश्मी पन्त, डाइरेक्टर ध्रुव अधिकारीलगायतका वक्ताहरूले पनि पुस्तकालय र पठन संस्कृतिको महत्वबारे मन्तव्य प्रस्तुत गरेका थिए।
कार्यक्रमको अध्यक्षता माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण प्रसाद सापकोटाले गर्नुभएको थियो।
–00–


