बिजय खरेल – सेतो नेपाल
चितवन । लायन्स क्लब अफ चितवन राइजले असोज ३, ४ र ५ गते भरतपुरस्थित कभर्डहलमा ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ।
क्लबका अध्यक्ष शिरिष पन्तका अनुसार लायन्स इन्टरनेशनल डिष्ट्रिक–३२५ आर अन्तर्गतका क्लबहरू यस प्रतियोगितामा सहभागी हुन सक्नेछन्। इच्छुक टोलीले यही भदौ ३१ गतेभित्र नाम दर्ता गर्नुपर्नेछ।
प्रत्येक जोडी दर्ता शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ। एउटै क्लबले एकभन्दा बढी समूह सहभागी गराउन पाउने भए पनि हरेक समूहले छुट्टै शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको अध्यक्ष पन्तले जानकारी दिनुभयो।
प्रतियोगितामा सहभागी खेलाडी अनिवार्य रूपमा क्लब सदस्य हुनु पर्नेछ। दर्ता फाराममा क्लबको नाम, क्लब नम्बर, खेलाडीको नाम तथा सदस्यता नम्बर उल्लेख गर्नुपर्ने नियम रहेको छ। तोकिएको मापदण्डभन्दा बाहिरको खेलाडी पाइएको खण्डमा प्रतियोगिताबाट बाहिर राखिने र दर्ता शुल्क फिर्ता नहुने व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो।
अध्यक्ष पन्तका अनुसार यो प्रतियोगिता जित हार मात्र नभई लायन्स क्लबबीचको मित्रता, एकता र सहकार्यको अभिव्यक्ति पनि रहेको जानकारी दिनुभयो ।
पुरस्कारको व्यवस्था आकर्षक बनाइएको छ। प्रथम हुने टोलीलाई एक लाख रुपैयाँ, द्वितीय हुने टोलीलाई पचास हजार रुपैयाँ, तृतीयलाई पच्चीस हजार रुपैयाँ र चतुर्थ हुने टोलीलाई पन्ध्र हजार रुपैयाँ नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिताको मुख्य प्रायोजक नेपोभिट टायल रहेको छ। स्वदेशी लगानीमा स्थापना भएको यो नेपालकै पहिलो टायल उद्योग हो। कम्पनीका अध्यक्ष मनोज प्रसाद रौनियारका अनुसार स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर टायल उत्पादन गर्दै आएको नेपोभिटले आयात प्रतिस्थापन गर्दै देशलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ।–00–


