काठमाडौं । इजरायलका राष्ट्रपति इसाक हर्जोगले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि आफ्नो देश निरन्तर आवाज उठाइरहेको बताएका छन्।
आइतबार (भदौ १) विपिनकी आमा पद्मा र बहिनी पुष्पासँग राष्ट्रपति निवास जेरुसेलममा भएको भेटमा उनले यो कुरा बताएका हुन्।
भेटमा राष्ट्रपति हर्जोगले विपिनको तस्वीर समात्दै भने, “हामी विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिरहेका छौं। उनी कहाँ छन् भन्ने स्पष्ट छैन तर इजरायल तथा हाम्रा बन्धकहरूको जिम्मेवारी लिने सबै पक्षले उनलाई घर फर्काउन सक्दो प्रयास गरिरहेका छन्।”
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्दा विपिनलाई अपहरण गरी साथमा लगेको थियो। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी सार्वजनिक भएको छैन। लामो समयसम्म विपिनको पत्ता नलागेपछि उनकी आमा र बहिनी गत साता इजरायल पुगेका थिए।
इजरायल सरकारको निमन्त्रणामा पुगेका उनीहरूले आइतबार राष्ट्रपति हर्जोगसँग भेट गरेका हुन्। भेटमा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित पनि उपस्थित थिए।
भेटमा राष्ट्रपति हर्जोगले विपिनको परिवारप्रति सहानुभूति व्यक्त गर्दै भने, “विपिन नेपालबाट कृषि अध्ययनका लागि इजरायल आएका थिए ताकि स्वदेश फर्केर परिवार र राष्ट्रका लागि राम्रो जीवन निर्माण गर्न सकून्।”
त्यस अवसरमा विपिनकी बहिनी पुष्पाले इजरायल सरकारलाई साथ दिएकोमा आभार व्यक्त गरिन्। उनले भनिन्, “यो मेरो परिवारका लागि निकै पीडादायी अवस्था हो। हामीलाई साथ र समर्थन दिएकोमा म इजरायललाई धन्यवाद दिन चाहन्छु।”
पुष्पाले अन्तर्राष्ट्रिय समुदायलाई विपिनको रिहाइका लागि तत्काल पहल गर्न पनि अपिल गरिन्। “हामी कल्पना पनि गर्न सक्दैनौं, उहाँ (विपिन) अहिले कस्तो अवस्थामा हुनुहुन्छ। कृपया उहाँलाई मुक्त गराउन जे गर्न सकिन्छ, गर्नुहोस्,” उनले भनिन्। —00–


