रेशम सापकोटा – सेतो नेपाल
चितवन,३१ साउन । श्रीकृष्ण जन्माष्टमी पर्वको पावन अवसरमा माडी–६, स्याउलीबासस्थित श्रीकृष्ण मन्दिर प्राङ्गण भजन र भक्तिसङ्गीतको गुञ्जनले गुन्जायमान बन्यो।
कृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न नगरस्तरीय भजन प्रतियोगितामा माडी–७, देबेन्द्रपुरस्थित शनि मन्दिर भजन समूह प्रथम भएको छ।

प्रतियोगितामा माडी–६, लक्ष्मीनिवासस्थित नवदुर्गा भजन समूह दोस्रो तथा माडी–७, कीर्तनपुरस्थित जनचेतना भजन समूह तेस्रो स्थानमा आउन सफल भए। विजयी समूहलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी भजन समूहहरूको स्वरमा भक्ति मात्र नभई मौलिकता र संस्कृतिको सुवास पनि झल्किएको थियो। साथै, लाखे नृत्य र रोपाईंजात्रा प्रस्तुत हुँदा वातावरण अझै जीवन्त बनेको थियो।
माडी प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् कार्यक्रम संयोजक प्रेम बिष्टले धार्मिक पर्वलाई सांस्कृतिक रचनात्मकतासँग जोडेर भावी पुस्तामा मौलिक धरोहर हस्तान्तरण गर्ने उद्देश्य रहेको बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि माडी–६ का वडाध्यक्ष दीपेन्द्रराज पौडेलले धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापलाई निरन्तर प्रवर्द्धन गर्दै आएको उल्लेख गर्दै भन्नुभयो, “भजन प्रतियोगिता जस्ता कार्यक्रमहरूले हाम्रो मौलिकता जगेर्ना मात्र होइन, स्थानीयस्तरमा आपसी सद्भाव र सहकार्यलाई अझ प्रगाढ बनाउन मद्दत पुर्याउँछन्।”

त्यस्तै, विशिष्ट अतिथि माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले धार्मिक कार्यक्रमसँगै मौलिक कला–संस्कृतिको जगेर्ना गर्नु समयको आवश्यकता भएको उल्लेख गर्दै भन्नुभयो, “भजन, नृत्य र परम्परागत संस्कृतिका यस्ता अभ्यासहरूले समाजमा आस्था मात्र होइन, सामूहिक एकता र मूल्य शिक्षाको प्रवर्द्धन गर्छन्। यो हाम्रो सम्पत्ति हो, जसलाई भावी पुस्ताका लागि जोगाएर राख्नुपर्छ भन्ने जिम्मेवारी हामी सबैको साझा कर्तव्य हो।”
त्यसैगरी, बागमती प्रदेश होमस्टे महासंघका उपाध्यक्ष जीतबहादुर चापागाईंले धार्मिक तथा सांस्कृतिक पर्वहरूलाई पर्यटनसँग पनि जोड्न सकिने उल्लेख गर्दै यसले स्थानीय अर्थतन्त्रलाई सबल बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम श्रीकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चुडामणि पाण्डेको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । –00–


