सन्तकुमार चौधरी । सेतोनेपाल
चितवन, २९ साउन । कैलाली कारागारमा अघिल्लो दिन भएको भिडन्तले कारागार सुरक्षा संवेदनशील र जटिल रहेको प्रमाणित गरेको छ। देशका कारागारहरू क्षमताभन्दा बढी कैदी राखिँदा सुरक्षा चुनौती बढिरहेको बेला चितवनको भरतपुर कारागार पनि त्यही समस्याबाट अछुतो छैन।
भरतपुर कारागार प्रमुख रविन्द्र प्रसाद ढुङ्गानाका अनुसार २०२५ सालमा स्थापना भएको यो कारागारमा सुरुमा महिला–पुरुष गरी ५०५ जना कैदी राख्ने क्षमता थियो। पछि ट्रष्ट निर्माणपछि क्षमता ६५० पुगे पनि अहिले यहाँ ७३४ जना बन्दी छन्। यसमा ५० जना महिला र १ शिशु सहित ५ जना नाबालक छन्। तीमध्ये एक शिशु कारागारमै जन्मिएकी हुन् भने केही आमासँगै आएका दुधे बालक पनि छन्।
कारागारमा भर्खर जन्मिएका शिशुदेखि ७५ वर्षभन्दा माथिका जेष्ठ नागरिकसम्म छन्। जेष्ठ नागरिकका लागि छुट्टै हल छ भने बालबालिकालाई आमासँगै राख्ने व्यवस्था गरिएको छ। सबै ब्लकमा टेलिभिजन र पत्रपत्रिका पढ्ने सुविधा छ।

मनोरञ्जन र सीप विकास –
कैदीहरूले भित्रकै खेल मैदानमा भलिवल, लुडो, क्यारमबोर्ड खेल्छन्। भलिवल र योगाका लागि छुट्टै ब्लक छ, जहाँ उद्योग (कारखाना) पनि सञ्चालनमा छ। कारागार भित्रकै खेल मैदानमा भलिवल, लुडो, क्यारेमबोर्ड खेलेर समय विताउँछन् ।
भलिवल र योगाका लागि बेग्लै ब्लक छ । यही ब्लकमा उद्योग (कारखाना) छ ।
सीप सिक्ने वा यतिकै समयखेर फाल्नुभन्दा दुईपैसा कमाउ भन्नेहरुले भित्रै विभिन्न सीपमूकल कामगर्न पाउँछन, गलैचा बुन्नेदेखि, डोको नाम्लो, मुढा लगायतका सामग्री बनाउने गर्छन् । उनीहरुले बनाएका सामाग्रीहरु केही व्यवसायिहरुले ठेक्का लगाएर लैजान्छन भने गलैचाका लागि धागो लगायत आवश्यक सामग्री दिने व्यक्तिलेनै लैजाने गरेका छन् ।
हाल कारागारमा ५ ब्लक छन्, जसमा २८ वटा शौचालय छन्। महिला र पुरुषका लागि छुट्टाछुट्टै स्नान स्थल खुल्ला ठाउँमा बनेका छन्। नयाँ ब्लकको भुईँतल्लामा मेडिकल कक्ष छ।

नाइके प्रणालीमार्फत सुरक्षा –
सुरक्षाका लागि कैदीहरूमध्ये नै नाइके र सहनाइके नियुक्त गर्ने प्रचलन छ। कारागार प्रशासनले प्रत्येक एकएकवर्षमा नाइके सह नाईके वा चौकीदार माग गर्छ । सार्वजनिक सूचना नै टाँसगरेर आवेदन माग गर्छ । इच्छुक कैदीहरुले आवेदन दिन्छन् । उनीहरुको आनीबाढी, सामान्य लेखपढगर्न सक्ने नसक्ने, नेतृत्वगर्न सक्ने क्षमता भए नभएको आधारमा अन्तरवार्तापछि चौकीदार, नाईके, सहनाईके नियुक्त हुन्छन् । यिनीहरुको कार्यकाल एकवर्षको हुन्छ ।
सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयबाट एक प्रहरी निरीक्षक र कारागार प्रमुखको अन्तरवार्तापछि नियुक्ति गरिने प्रचलन छ ।
२५ जना कैदीमा १ जना नाइके र १० जनामा १ जना सहनाइके हुने व्यवस्था छ। हाल पुरुषतर्फ २९ नाइके र ७० सहनाइके छन्, महिलातर्फ १ चौकीदार छन्। उनीहरूले रातमा पालो मिलाएर ड्युटी गर्छन् र समस्या भए प्रशासनसँग समन्वय गर्छन्।
यस सेवाबापत चौकीदारले प्रतिदिन ७५ पैसा थप सुविधा र एक वर्षमा २ महिना कैद छुट पाउँछन्। नाइकेले प्रतिदिन ६० पैसा र एक वर्षमा ४५ दिन कैद छुट पाउँछन् भने सहनाइकेले प्रतिदिन ४५ पैसा र एक महिना कैद छुट सुविधा पाउँछन्।
भरतपुर कारागारमा कैदी संख्या क्षमताभन्दा बढी भए पनि उपलब्ध स्रोतसाधनमा सकेसम्म व्यवस्थित गर्न प्रयास भइरहेको कारागार प्रमुख ढुङ्गानाले बताए।

–00—


