रेशम सापकोटा – सेतो नेपाल-
चितवन, २६ साउन – माडी नगरपालिका–८ की सवनव आले मगरको घर वरिपरि पाइला टेर्दा मौलिक सौन्दर्य र सुगन्धको मिश्रणले मन लोभिन्छ।
परम्परागत ग्रामीण शैलीमा बनेको उहाँको घरमा कतैकतै काठका संरचना, कतैकतै सिमेन्टका बलिया पर्खाल, आकर्षक रंग–रोगन, र वरिपरि झुण्डिएका गमलामा फुलेका रङ्गीचङ्गी फूलहरूले आगन्तुकलाई रमाइलो अनुभूति दिन्छन्। आँगनमा सधैं फुलबारीको हरियाली र बारीसम्म फैलिएका फूलहरूले गाउँको वातावरण नै परिवर्तन गरिदिएको छ।
पेशाले गृहिणी रहनुभएकी आले मगरले सुरुमा चार गमलामा फूल रोपेर शुरुवात गर्नुभयो। समयसँगै उहाँले घर, आँगन, बाटो छेउ र बारीसम्म फूलको खेती विस्तार गर्नुभयो। अहिले उहाँ नर्सरी सञ्चालन गर्दै बिरुवा कलमी गर्ने, गमलासहित बिक्री गर्ने र सिक्न चाहनेहरूलाई नि:शुल्क ज्ञान बाँड्दै आउनुभएको छ।
उहाँको प्रेरणामा ‘फूलबारी आमा समूह’का दिदीबहिनीहरूको घर–आँगन पनि फूलले सजिन थालेका छन्। पहिले फूल मन नपर्ने कतिपय गाउँले अहिले आफ्नै घरमा ढकमक्क फूल रोप्न थालेको देख्दा आफूलाई अनन्द मिल्ने कुरा आले मगरले बताउनुभयो।
दैनिक धेरै मानिसहरू फूलबारी हेर्न, तस्वीर खिच्न, बिरुवा किन्न र कुरा सिक्न आउने गर्छन्। दैनिक आउने मानिससँग कुरा गर्दा झर्को लाग्दैन भन्ने प्रश्नमा आले मगर भन्नुहुन्छ, “किन झर्को मान्नु? आफूले जानेको कुरा अरूलाई सिकाउन पाउँदा त खुशी लाग्छ,” मुस्कुराउँदै उहाँले भन्नुभयो। फुर्सदको समयमा मोल हाल्दै, पानी हाल्दै र हेरचाह गर्दै बिताउने उहाँको बानीले फूलसँगको सम्बन्ध अझ मजबुत बनाएको छ।
श्रीमानले आवश्यक काममा सघाउँनुहुन्छ, तर आले मगर मुस्कुराउँदै भन्नुहुन्छ, “कुन बिरुवामा कति मोल हाल्ने, कति पानी हाल्ने भन्ने कुरा म आफैं गदर्छु।”
अब उहाँको योजना अझ ठूलो छ। सरकारले आवश्यक बजेट विनियोजन गरेमा नर्सरी विस्तार गरेर यसलाई व्यावसायिक स्तरमा लैजाने र ‘माडीलाई फूलबारीमय बनाउने।’ फूललाई आफ्नो जीवनको मुख्य व्यवसाय बनाउन चाहनुभएको स्पष्ट गर्दै, यसतर्फ राज्यले सहयोग गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो।
यसैबीच, माडी नगरपालिकाले नगर सभाको पाँचौं अधिवेशनको अवसरमा उहाँलाई ‘उत्कृष्ट सफा घर’ सम्मानपत्र प्रदान गरिसकेको छ। २०८२ असार २६ गते प्रदान गरिएको यस सम्मानले उहाँलाई थप उर्जा मिलेको वहाँ बताउनु हुन्छ ।

सवनव आले मगरले आफ्नो सानो प्रयासबाट घर, गाउँको सौन्दर्य र वातावरणलाई नै समृद्ध बनाउने ठूलो काम गर्दै हुनुहुन्छ। उहाँको लगनशीलता र अनुशासनले देखाउँछ कि जब मनबाट सेवा र समर्पण हुन्छ, तब कुनै पनि काम असम्भव हुँदैन। फूलबारी मात्र होइन, गाउँलाई नै फूलको बगैंचा बनाउन उहाँको यो यात्रा अरूका लागि प्रेरणादायक छ। यस्तो योगदानलाई राज्य र समाजले उचित सम्मान र सहयोग गर्न आवश्यक देखिन्छ ।–00–


