दाजुभाइको सौर्य वृद्धिको कामनासहित दिदीबहिनीको रक्षासूत्र बाँध्ने परम्परा

काठमाण्डौं, २४ साउन ।  साउन मध्यतिर सुरु भएको मन्दमन्द वर्षाबीच आज मिथिला क्षेत्रमा राखी पर्व उल्लासपूर्वक मनाइँदै छ। वर्षा सुरु भएपछि ढिलै भए पनि धान रोपाइँ गर्न पाएका मैथिल समुदायका मानिसहरू यसपालिको पर्व विशेष उत्साहका साथ मनाइरहेका छन्।

चन्द्रमासको साउन पूर्णिमामा मनाइने राखी पर्व दिदीबहिनी र दाजुभाइबीचको प्रेम, आपसी सद्भाव र सुरक्षा कामनाको प्रतीक मानिन्छ। यस दिन दिदीबहिनीले दाजुभाइको दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधेर दीर्घायु र सौर्य वृद्धिको कामना गर्ने परम्परा छ। मिथिला क्षेत्रमा यसलाई ‘राखी’ भनिन्छ।

पछिल्लो वर्षाले मिथिलाका बस्ती र बजारमा खुसीको माहोल ल्याएको छ। जलेश्वर–४ सुगाभवानीपट्टीका धीरेन्द्र रायका अनुसार लामो खडेरीपछि आएको वर्षाले खेतीपातीमा राहत मात्र दिएको छैन, पर्वलाई पनि रमाइलो बनाएको छ। “खेतीपाती राम्ररी नभए चाडपर्वको रौनक हराउँछ, तर यसपालि वर्षाले राखी पर्वलाई सुलक्षण बनाइदियो,” रायले भने।

पर्वको तयारी केही दिन अघिदेखि नै सुरु भएको थियो। बजारमा रङ्गीचङ्गी राखी सजाएर राखिएका छन्, मिठाई पसलमा भीड देखिन्छ, र दिदीबहिनीहरू दाजुभाइका लागि उपहार र मिष्ठान्न किनमेलमा व्यस्त छन्। दाजुभाइहरू पनि राखी बाँध्ने निम्तामा टाढाबाट घर फर्किएका छन्। विवाह भएका दिदीबहिनीले माइत वा आफ्नै घरमा सुविधा अनुसार पर्व मनाउँछन् भने अविवाहित चेली र किशोरीहरू घरमै तयारीमा जुट्छन्।

पर्वमा राखी बाँधिएपछि दाजुभाइले चेलीलाइ वस्त्र, आभूषण वा नगद दक्षिणा दिने चलन छ। यो पर्व हिन्दू परम्पराको रक्षाबन्धनकै एक अङ्ग हो, जसमा गुरूपुरोहितले शिष्य र यजमानलाई अभिमन्त्रित डोरा बाँधिदिने प्रथा पनि छ।

मिथिला क्षेत्रमा राखीको उत्पत्ति सम्बन्धी जनविश्वासअनुसार, सत्ययुगमा दानवराज बलिलाई युद्धमा जानुअघि उनका गुरु शुक्राचार्यले रक्षाकवच बाँधिदिएका थिए। त्यस्तै, बलिका बहिनीहरू गङ्गा र यमुनाले पनि विजयको कामना गर्दै राखी बाँधिदिएका थिए, जसपछि बलि युद्धमा विजयी भएका थिए। यही स्मरणमा प्रत्येक वर्ष साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँध्ने परम्परा स्थापित भएको मानिन्छ।

आज मिथिलाका गल्लीदेखि बजारसम्म प्रेम, सद्भाव र समर्पणका गीत गुञ्जिरहेका छन्। यो पर्व अब केवल मैथिल वा हिन्दू समुदायमै सीमित नभई सबै भाषाभाषी र धर्मका मानिसबीच समान रूपमा लोकप्रिय बन्दै गएको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेलले बताए।–00–

Share:

सम्बन्धित समाचारहरु