माडी, १७ साउन। महाकवि लक्ष्मीप्रसाद देवकोटाको कालजयी खण्डकाव्य ‘मुनामदन’ अब रंगमञ्चमार्फत माडीमा प्रस्तुत हुने भएको छ। साउन १८ र १९ गते माडीको बसन्तपुरस्थित होटल प्याराडाइजको एसी हलमा मञ्चन हुन गइरहेको यस नाटकको तयारी अन्तिम चरणमा पुगेको छ।
पोखरा थिएटर र माडी रंगमञ्चको संयुक्त आयोजनामा प्रस्तुत हुने नाटकको हल व्यवस्थापन, अतिथि आमन्त्रण र गाउँगाउँमा टिकट बिक्री अभियान तीव्र गतिमा अगाडि बढाइएको आयोजकहरूले जनाएका छन्।
नाटकको रूपान्तरण तथा निर्देशन नाट्यकर्मी मोती बहादुर कार्की ‘परिवर्तन’ले गरेका छन्। मञ्चनमा माडीका स्थानीय कलाकारहरूको उल्लेखनीय सहभागिता रहनेछ, जसले नाटकलाई थप सजीव र सशक्त बनाउने अपेक्षा गरिएको छ।
यस प्रस्तुतीले प्रेम, त्याग, वर्गीय विभेद र मानवीय संवेदनालाई चित्रण गर्दै सामाजिक चेतना जगाउनेछ।
दर्शक वर्ग विद्यार्थी, शिक्षक, साहित्यप्रेमी, महिला समूह, युवा र आम स्थानीय समुदायलाई लक्षित गर्दै नाटक तयार पारिएको छ।
सामाजिक सञ्जालमार्फत प्रचारप्रसारमा स्थानीय बासिन्दाहरूको स्वतःस्फूर्त सहभागिता, उत्साहजनक प्रतिक्रिया र अग्रिम टिकट बुकिङमा वृद्धि देखिएको आयोजकको भनाइ छ।
नाटकको प्रवेश शुल्क:-
-
साधारण दर्शकका लागि: रु ३००
-
विद्यार्थीका लागि: रु २५०
माडीको सांस्कृतिक चेतना र रंगमञ्चीय गतिविधिमा नयाँ ऊर्जा थप्ने यो प्रयासले दर्शकको मन जित्ने विश्वास लिइएको छ।


