चितवन, १७ साउन ।
नेपाल–भारत सम्बन्धमा इन्धन आपूर्तिको क्षेत्र सदैव महत्त्वपूर्ण रहेको छ। वर्षौंदेखि ट्यांकरबाट इन्धन आयात गरिँदै आएको नेपालका लागि पाइपलाइनमार्फत इन्धन ढुवानी इतिहासमै पहिलोपटक २०७६ सालमा सुरू भयो। भारतको मोतिहारीदेखि नेपालकाे अमलेखगन्जसम्म ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएसँगै नेपालले इन्धन आपूर्तिको क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्यो।
यो उपलब्धि पछि दोस्रो चरणमा पाइपलाइन विस्तार गर्दै चितवनको लोथरसम्म पुर्याउने योजना अघि सारिएको हो। नेपाल आयल निगम र भारतको इन्डियन आयल कर्पोरेसन (IOC) बीच २०८१ असोज १७ गते दोस्रो पाइपलाइन विस्तारको लागि बी-टु-बी (B2B) सम्झौता भएको थियो। सम्झौता अनुसार अमलेखगन्जदेखि चितवनको लोथरसम्म ६२ किलोमिटर लामो, १०.७५ इञ्च व्यासको पाइपलाइन निर्माण गरिनेछ।
पाइपलाइन परियोजना अन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा करिब २३ बिघा १२ कठ्ठा क्षेत्रफलमा अत्याधुनिक सुविधासहितको ग्रिनफिल्ड टर्मिनल बनाउने कार्यको सुरुवात भइसकेको छ। यो परियोजनाको अनुमानित लागत १४ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ। पाइपलाइन बिछ्याउने लागत भारतको इन्डियन आयल कर्पोरेसनले बेहोर्नेछ भने भण्डारण गृह निर्माणको खर्च नेपाल आयल निगमले गर्नेछ।
यस परियोजनालाई तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। हाल परियोजनाको कागजी प्रक्रिया सकिएको र कार्यालय लोथरमै स्थापना गरी निर्माण कार्य प्रारम्भ भएको परियोजना प्रमुख इञ्जिनियर प्रदीपकुमार यादवले जानकारी दिएका छन्।
पाइपलाइन विस्तारका बहुआयामिक लाभहरू
पाइपलाइन निर्माणले नेपाली ऊर्जा प्रणालीमा बहुआयामिक लाभ पुर्याउने अपेक्षा गरिएको छ। पेट्रोलियम ढुवानीको समय र लागत घट्ने, वातावरणीय प्रभाव न्यून हुने, चोरी र मिसावट नियन्त्रणमा आउने, र ट्राफिक जामजस्ता समस्याबाट मुक्ति मिल्ने प्रमुख लाभ हुन्।
नयाँ पाइपलाइनमार्फत प्रतिघण्टा २७३ किलोलिटर इन्धन ढुवानी गर्न सकिनेछ। यसमार्गबाट वार्षिक २० मिलियन टन इन्धन ल्याउन सकिने प्रक्षेपण गरिएको छ। लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताका ट्यांकीहरूको निर्माण हुनेछ, जसमा पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनका छुट्टाछुट्टै भण्डारण ट्यांकीहरू रहनेछन्।

स्थानीय प्रभाव र आर्थिक सम्भावना
राप्ती नगरपालिका–१ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले लोथर परियोजनालाई चितवनको गौरवको योजना भनेका छन्। उनले स्थानीय जनताको रोजगारी, व्यवसायिक सम्भावना र पूर्वाधार विकासका दृष्टिले परियोजना प्रभावकारी हुने बताएका छन्।
नेपालको इतिहासमा यो परियोजना इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षाको दिशामा उठाइएको ठोस कदम हो। नेपाल आयल निगम स्थापना भएको २०२७ सालदेखि हालसम्मको यात्रा हेर्दा पाइपलाइनमार्फत इन्धन आपूर्ति नेपालका लागि संरचनागत छलाङ हो।
भारत–नेपाल पेट्रोलियम पाइपलाइन सम्झौताबाट सुरू भएको सहकार्य अहिले लोथरसम्मको विस्तार हुँदैगर्दा नेपालका लागि ऊर्जा सुरक्षा, आपूर्ति विश्वसनीयता र रणनीतिक स्वतन्त्रताको दिशामा एक गम्भीर उपलब्धि बन्नेछ। यदि समयमै निर्माण सम्पन्न भयो भने, यो पाइपलाइन परियोजना नेपालमा इन्धन ढुवानीको पुरानै अभ्यासलाई विस्थापित गर्दै नयाँ युगको आरम्भ गर्नेछ।–00—


