गोपालनगरको माछा पोखरी : पानीमा भविष्य, अन्य खेति भन्दा दोब्बर आम्दानी

रेशम सापकोटा – सेतो नेपाल

चितवन,१६ साउन – चितवनको माडी नगरपालिका–७ मा रहेको गोपालनगर अहिले माछा पालनको सफल मोडेलका रूपमा देशभर परिचित छ। माछा पालन सुरु भएको पनि चार दशक भइसकेको छ। यसअघि धान खेतीमा निर्भर रहेका यहाँका किसानहरू जंगली जनावर—हात्ती, गैंडा, बँदेलको लगातार आक्रमणका कारण खेती चौपट हुँदै गएपछि निराश भएका थिए। खेतमा सानो आशाले अन्न रोप्दा पनि रातभर जाग्राम बसेर जनावर तर्साउनुपर्ने, अन्त्यमा घाटा मात्रै हात पार्ने यथार्थले उनीहरूलाई परम्परागत खेतीप्रति वितृष्णा गरायो। यही पीडाबाट मुक्ति खोज्दै अहिले उनीहरूले पानीमा सम्भावना देखेका छन्—माछा पालनमार्फत।

जहाँ पहिले धानका बाला हुर्किन्थे, अहिले त्यही खेत पोखरीमा रूपान्तरण भएका छन्। ती पोखरीमा विभिन्न जातका माछाहरू फुरफुराउँदै छन्—र त्यही माछाले किसानहरूको जीवनशैली मात्र होइन, यस क्षेत्रको अर्थतन्त्रलाई उकास्न थालेको छ। माडीमा हाल गोपालनगर क्षेत्रसहित ५०० हेक्टरभन्दा बढी जमिनमा माछा पालन भइरहेको छ भने १,००० भन्दा बढी किसान यसैमा आश्रित छन्। माछा पोखरीहरू अब केवल उत्पादन केन्द्र होइनन्—अवलोकन केन्द्र, पर्यटन गन्तव्य, र किसान शिक्षाको थलो बन्दै गइरहेका छन्।

माछा पालनको यही सफलताको आधारमा गोपालनगर माछा उत्पादन तथा वितरण सहकारी संस्थाले राष्ट्रिय पुरस्कार समेत प्राप्त गरिसकेको छ। पोखरीहरूले कृषिको परिभाषा नै फेरिदिएका छन्—अब चिस्यान रहने माटोमा पोखरी खनी पानीमा खेती सम्भव छ भन्ने सन्देश देशभर फैलिएको छ।

माछा पालनले केवल आर्थिक आम्दानी मात्र होइन, जीवनशैलीमा आमूल परिवर्तन पनि ल्याएको छ। गर्मीको बेलामा पोखरीको डिलमा बसेर चल्ने चिसो बतास, छेउछाउमा लगाइएका केरा र अन्य फलफूलका बोटहरूले पोखरीलाई रमणीय बनाएका छन्। स्थानीय वातावरणीय सन्तुलन पनि यसबाट सुदृढ हुँदै गएको छ।

यस क्षेत्रका किसानहरूले रहु, नैनी, सिल्भर कार्प, कमन कार्पजस्ता माछाका जातसँगै ग्रास कार्प माछालाई विशेष प्राथमिकतामा राखेका छन्। व्यवसायीहरूको अनुभवमा ग्रास कार्प एक वर्षभित्रै १ देखि २ केजीसम्मको तौल हुने गर्दछ। पोखरीमै व्यापारीहरू आएर प्रतिकिलो ३३० रुपैयाँसम्म तिर्छन्। अहिले काठमाडौँ, पोखरा, चितवनलगायत देशका मुख्य सहरमा गोपालनगरका माछाहरूको सशक्त बजार विस्तार भइसकेको छ।

गोपालनगर माछा उत्पादन यात्राको थालनी करिब चार दशकअघि भएको हो। वि.सं२०४० सालतिर स्व. नवप्रसाद घिमिरेले कोदालीले खनेर माटो निकाली सानो पोखरी निर्माण गरेर माछा पालन सुरु गरेका थिए। सुरूमा धेरैले यो कार्यप्रति विश्वास गरेका थिएनन्, उनको आफ्नै परिवारभित्र पनि शंका थियो। तर आज उहाँकै परिश्रमको जगमा यो सफल मोडेल उभिएको छ। अहिले उहाँका छोरा हरिप्रसाद घिमिरे तीन बिघा क्षेत्रफलमा माछा पालन गर्दै आउनुभएको छ। उहाँले भन्नुभयो, “हामीले वार्षिक रूपमा करिब २५ लाख रुपैयाँ खर्च गर्छौं। त्यसमा १५ लाख रुपैयाँसम्म नाफा निकाल्न सफल भएका छौं।”

यस्तै, स्थानीय युवा केशव रानाभाटले भन्नुभयो, “हाम्रा पोखरीमा रहु, नैनी, सिल्भर कार्प, कमन कार्प, ग्रास कार्पलगायतका जातका माछा रहेका छन्। युवा अब विदेश नजाने सोच बनाउन सक्छन्। माछा पालनमै राम्रो सम्भावना देखिन्छ। माछाको व्यापारमा टिक्न सकिन्छ भन्ने उदाहरण हामी आफैं बनेका छौं। गोपालनगरको माछा पालन व्यवसायले लिएको फड्कोप्रति हामी उत्साहित छौं। यहाँ पालिएका माछा अहिले काठमाडौँ, पोखरा, चितवनलगायत देशका प्रमुख सहरहरूमा सहजै आपूर्ति भइरहेका छन्। किसिम–किसिमका माछाहरू पालिन्छन्। किसानको आम्दानी र आत्मविश्वास बढेको छ।”

यस क्षेत्रको प्रेरणादायी पात्रमध्ये एक वडाध्यक्ष चन्द्र बानिया पनि माछा पालनमै संलग्न हुनुहुन्छ। उहाँ आफैंले आफ्नै बारीमा १७, ५, ११ र ६ गरि ३९ कठ्ठा क्षेत्रफलमा ४ वटा पोखरी निर्माण गरेर व्यावसायिक रूपमा माछा पालिरहनुभएको छ। उहाँ भन्नुहुन्छ, “म किसानको छोरी हुँ, मलाई तडकभडक चाहिँ आउँदैन। बिहान बेलुका खेत र घरको काम सँगसँगै वडाध्यक्षको भूमिका पनि सम्हालिरहेकी छु। राजनीति भनेको समाज सेवा हो भन्ने मान्यतासँगै मैले जनताको साथ र कृषि रोजाइलाई सँगसँगै अघि बढाएकी छु।”

वडाध्यक्ष बानियाका अनुसार साना–साना पोखरीहरूमा अक्सिजनको मात्रा कम हुने भएकाले माछा हुर्काउन चुनौती हुन्छ। त्यसैले चक्लाबन्दी प्रणालीमा आधारित सामूहिक पोखरी निर्माण गरियो भने उत्पादन गुणात्मक मात्र होइन, परिमाणात्मक रूपमा पनि दोब्बर गर्न सकिने सम्भावना छ। उहाँले थप्नुभयो, “हामीसँग भुरा उत्पादन गर्न आवश्यक पूर्वाधार र फर्महरू तयार छन्, तर अझै नियमित उत्पादन सुरु गर्न सकिएको छैन। प्रयास भने निरन्तर चलिरहेको छ।”

तर माछा पालनले दिएको उपलब्धिसँगै चुनौतीहरू पनि उत्तिकै छन्। हरेक वर्ष बर्खामा आउने बाढी, नदी कटान, प्राकृतिक विपत्तिले किसानहरूको धेरै मिहिनेत बगाउँछ। गत वर्ष मात्रै बाढीले करिब एक दर्जन पोखरी नष्ट गरिदिएको थियो। अर्कोतर्फ, माडी क्षेत्रमा अत्यधिक डिप बोरिङ गाडिँदै गएपछि भू–जल सतह लगातार तल झर्दै गएको छ। पोखरीमा पानीको सहज आपूर्ति नभएसम्म उत्पादन स्थायित्वमा पुग्न सक्दैन वहाँको भनाइ छ ।

स्थानीय माछा पालक गोपी नेपालले भन्नुभयो “हामीसँग रिउ खोलामा पर्याप्त मात्रामा पानीको स्रोत छ। तर कच्ची ड्याम बाढीले बगाउँछ। त्यसलाई पक्की बनायौं भने दीर्घकालीन समाधान सम्भव छ। सतह सिँचाइ प्रणाली विकास गरेर, पानी जम्मा गरेर नालाबाट पोखरीमा पठाउन सक्ने संरचना बनाए जल स्रोतलाई दीगो बनाउन सकिन्छ,

माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतले माछा पालनमार्फत माडीको परिचय देशभर फैलिन थालेकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, “गोपालनगर अब केवल एक गाउँ होइन, देशकै नमुना माछा उत्पादन क्षेत्र हो। यहाँका किसानहरूले जुन मेहनत, लगन र सोचको साथ माछा पालनलाई व्यवसाय बनाउनु भएको छ, त्यसले माडीको आर्थिक र सामाजिक रुपान्तरणमा ठूलो भूमिका खेलेको छ। देशभरबाट यहाँ अवलोकन गर्न किसान, विद्यार्थी र अनुसन्धानकर्ता आउन थालेका छन्। आन्तरिक पर्यटकहरूको चाप बढेको छ। यसले स्थानीय अर्थतन्त्रमा नयाँ जीवन थपेको छ। अब हामी देखिएका समस्या समाधान गर्न लागिरहेका छौँ—चक्लाबन्दी प्रणाली विस्तार, पक्की बाँध निर्माण, सतह सिँचाइको प्रवर्द्धन, जल स्रोत व्यवस्थापनजस्ता कार्यक्रममा नगरपालिका प्रतिबद्ध छ।”

आज गोपालनगरका पोखरीहरू केवल पानीले भरिएका खाल्डो होइनन्। त्यहाँ भरिएको छ मेहनत, पौरख, सम्भावना, आत्मनिर्भरता र भविष्यप्रतिको विश्वास। माछा पालन अब वैकल्पिक पेशा होइन, स्थायी जीवनशैली बनिरहेको छ। किसानहरूले मौसमी चक्र अनुसार रणनीति बनाउँदै—जाडोमा बढी उत्पादन, गर्मीमा छिटो हुर्काउने—उत्पादन प्रणालीमा नवीनता भर्दै छन्। यहाँका पोखरीहरूले अब देशलाई भनिरहेका छन्—हामीसँग माटो छैन भने पनि, पानी छ। अनि त्यो पानीमा भविष्य छ।

Share:

सम्बन्धित समाचारहरु