प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाँदै, भूपरिवेष्ठित देशहरूको सम्मेलनमा भाग लिने

काठमाडौं, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (साउन १८ गते) तुर्कमेनिस्तानको अवाजा सहर प्रस्थान गर्ने भएका छन्। भूपरिवेष्ठित विकासशील देशहरूको विषयमा आयोजना हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्न उनी तुर्कमेनिस्तान जान लागेका हुन्।

सम्मेलन साउन २० देखि २५ गतेसम्म आयोजना हुँदैछ। प्रधानमन्त्री ओलीलाई तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले निमन्त्रणा गरेका हुन्।

परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार, प्रधानमन्त्री ओलीले अति कम विकसित देशहरूको (एलडीसी) ग्लोबल को–अर्डिनेसन ब्युरो को अध्यक्षको हैसियतले सम्मेलनलाई सम्बोधन गर्नेछन्। उनले सम्मेलनअन्तर्गत उच्चस्तरीय गोलमेच बैठकमा सह–अध्यक्ष को रूपमा समेत सहभागिता जनाउनेछन्।

यसबाहेक प्रधानमन्त्री ओलीले सम्मेलनको साइडलाइनमा विभिन्न राष्ट्रका प्रतिनिधिमण्डलका प्रमुखहरू, संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय संस्थाहरूका उच्चपदस्थ व्यक्तित्वहरूसँग भेटवार्ता गर्ने कार्यक्रम समेत तय गरिएको छ।

प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्री लगायत उच्चपदस्थ सरकारी अधिकारीहरू सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओलीको साउन २३ गते स्वदेश फर्किने कार्यक्रम छ।

Share:

सम्बन्धित समाचारहरु