साउनको पहिलो सोमबार: शिव मन्दिरहरूमा भक्तजनको घुइँचो, कामिका एकादशी व्रत पनि आजै

काठमाडौं, ५  साउन ।  –
आज २०८२ साल साउन ५ गते, सोमबार। हिन्दू पंचाङ्ग अनुसार आज कामिका एकादशी परेको छ। यस वर्ष साउन महिनाको पहिलो सोमबार पनि यही दिन परेकाले देशभरका शिव मन्दिरहरूमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ।

विशेषगरी पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। सोमबार भगवान शिवको प्रिय दिन मानिने भएकाले श्रद्धालुहरू व्रत बसेर पूजाआजा गर्दै आस्थाका साथ आराधना गरिरहेका छन्।

शास्त्रीय मान्यताअनुसार, सोमबारको व्रतले भक्तको मनोकामना पूरा हुन्छ, ज्ञान प्राप्ति हुन्छ र अविवाहित महिलाहरूले असल वर पाउने विश्वास गरिन्छ। यो व्रत सूर्य उदयसँगै सुरु भई सूर्यास्तपछि बेलुकीको आरती सकेर पारण गरिन्छ।

यस दिन शिव र पार्वतीको पूजा गरिन्छ भने पूजा सुरु गर्नुअघि गणेशको पूजा अनिवार्य मानिन्छ।

आजकै दिन परेको कामिका एकादशीका अवसरमा पनि भक्तजनहरूले विष्णु आराधनासहित व्रत गरेका छन्। एकादशीको व्रतले पापहरू नाश हुने र पुण्य लाभ हुने धार्मिक विश्वास रहेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु