मुनामदन अब माडीमा, स्थानीय कलाकारसहित भव्य मञ्चन हुने

– रेशम सापकोटा — सेतोनेपाल
माडी, चितवन | १ साउन

नेपाली साहित्यको अमर काव्यकृति ‘मुनामदन’ अब पहिलो पटक चितवनको माडीमा रंगमञ्चीय रूपमा प्रस्तुत गरिने भएको छ। पोखरा थिएटरले माडी रंगमञ्चको सहकार्यमा यो चर्चित नाटक श्रावण १८ र १९ गते मञ्चन गर्ने तयारी गरेको हो।


नाटक बसन्तपुरस्थित होटल प्याराडाइजको वातानुकूलित हलमा प्रस्तुत गरिनेछ।

यसअघि पोखरामा दुईपटक सफलतापूर्वक मञ्चन भइसकेको यो शैक्षिक तथा सामाजिक सन्देशले भरिएको नाटक अब माडीमा विद्यालय स्तरका विद्यार्थी, आमा समूह, शिक्षक, युवा क्लब, साहित्यिक समुदाय, जनप्रतिनिधि र स्थानीय सर्वसाधारणलाई लक्षित गरी ल्याइएको हो।

नाटकको नाट्यरूपान्तरण तथा निर्देशन अनुभवी नाट्यकर्मी **मोती बहादुर कार्की ‘परिवर्तन’**ले गरेका हुन्। मञ्चनका लागि उच्च स्तरको प्रकाश संयन्त्र र भव्य रंगमञ्चीय सेट निर्माण गरिने आयोजकहरूले बताएका छन्।

साधारण दर्शकका लागि टिकट दर ३०० रुपैयाँ तोकिएको छ भने विद्यार्थीहरूले २५० रुपैयाँमै नाटक हेर्न सक्नेछन्।
विशेष कुरा के छ भने, यस नाटकमा माडीका आफ्नै नाट्य कलाकारहरूको समेत अभिनय रहनेछ, जसले स्थानीय सहभागितालाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

माडी रंगमञ्चका अध्यक्ष तथा स्थानीय कलाकार सुमन तिमिल्सिनाका अनुसार, “नाटक केवल मनोरञ्जनको माध्यम होइन, समाजप्रति उत्तरदायी भावनात्मक अभिव्यक्तिको सशक्त साधन पनि हो। त्यसैले सामूहिक सहभागिता अभिवृद्धि गर्न विभिन्न सामाजिक संघ–संस्थाहरूलाई सक्रिय आमन्त्रण गरिएको छ।”
उहाँका अनुसार, कार्यक्रमको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ र नाटकलाई गुणस्तरीय तथा प्रभावशाली बनाउने लक्ष्यका साथ सम्पूर्ण टिम खटिरहेको छ।

‘मुनामदन’को मञ्चनले माडीमा व्यवसायिक नाट्यसंस्कृतिको विस्तार, साथै स्थानीय रंगकर्मीहरूमा नयाँ ऊर्जा र प्रेरणा भरिदिने विश्वास गरिएको छ।

यस नाटकको मिडिया पार्टनरको रूपमा सेतो नेपाल डटकम अनलाइन पत्रिका समेत रहेेकाे छ ।

Share:

सम्बन्धित समाचारहरु