त्रिशुली नदी किनारमा भेटिएको शव प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठको भएको पुष्टि

चितवन,२४ असार। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक त्रिशुली नदी किनारमा फेला परेको मृत शरीर प्रहरी निरीक्षक (प्र.नि.) लालबहादुर श्रेष्ठको भएको पुष्टि भएको छ।

मंगलबार साँझ करिब ६ बजेको समयमा नाम, थर र वतन नखुलेको अन्दाजी २५ देखि ३० वर्ष उमेर समूहका एक पुरुषको शव त्रिशुली नदी किनारमा फेला परेको भन्ने सूचना प्राप्त भएलगत्तै प्रहरी चौकी जुगेडीबाट प्रहरी निरीक्षक हरिबहादुर लामा तामाङ र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीको नेतृत्वमा टोली खटिएको थियो।

उक्त शवको बायाँ खुट्टामा बुट रहेको र दायाँ खुटाको घुँडादेखि तलको भाग नभएको अवस्थामा भेटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा सो शव हाल रसुवास्थित इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत तथा हाकु प्रहरी चौकी, रसुवामा दरबन्दी भइ कार्यरत जिल्ला रामेछाप, लिखु तामाकोशी गाउँपालिका–४ घर भएका ४२ वर्षीय प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठको भएको खुलेको हो।

श्रेष्ठ केही दिनदेखि भोटेकोसीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए। हाल शव परीक्षण तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

Share:

सम्बन्धित समाचारहरु