काठमाडौं, २४ असार । काठमाडौं महानगरपालिका–६ स्थित बौद्ध नयाँबस्तीबाट एक चिनियाँ नागरिकलाई ठूलो रकमसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सोमबार साँझ ४० वर्षका वाङ जैनलाई एक करोड ४४ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा स्वयम्भू बस्ने जैनलाई बौद्धस्थित एक घरबाट उक्त नगदसहित पक्राउ गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएको रकमको स्रोत शंकास्पद देखिएकाले थप अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेका वाङ जैनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।


