काठमाडौं, २४ असार । रसुवाको रसुवागढी नाकास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण तीन जना प्रहरीसहित १८ जना सम्पर्कविहीन भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार इलाका प्रहरी कार्यालय टिमुरेबाट उद्धारका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) लालबहादुर श्रेष्ठ, जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा बाढीपछि सम्पर्कविहीन भएका हुन् ।
त्यसैगरी, ९ जना नेपाली र ६ जना चिनियाँ नागरिक पनि बेपत्ता भएका छन् ।
आज बिहान करिब ३ बजेतिर चीनतर्फ परेको अविरल वर्षाका कारण भोटेकोशीमा अत्यधिक बाढी आएको थियो । बाढीले बिहान ४ बजेतिर नेपाल–चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । पुल बगाएपछि नेपाल र चीनबीचको सवारी तथा मानवीय आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।
बाढीले बिहान साढे ४ बजेतिर गोसाईंकुण्ड गाउँपालिका–२ मा रहेको इभी चार्जिङ स्टेसनमा क्षति पुर्याउनुका साथै ७ देखि ८ वटा इलेक्ट्रिक गाडी बगाएको छ । त्यस्तै, रसुवागढी भन्सार कार्यालयको यार्डमा रहेका गाडी तथा संरचनामा क्षति पुगेको छ भने रसुवागढी जलविद्युत आयोजना (हाइड्रोपावर) को ड्याम पनि क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको छ ।


