जनकपुरधाम, २३ असार। जनकपुर–जयनगर रूटमा सञ्चालनमा रहेको रेलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा धनुषाको लक्ष्मिनीयाँ –२, सिनरजोडाका ४५ वर्षीय विनोद साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाको औरही गाउँपालिका–२, देउरी प्रवाहास्थित रेल लिकमा आज दिउँसो करिब १२:३० बजे जनकपुरबाट जयनगरतर्फ गइरहेको रेलले ठक्कर दिँदा साहको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका अनुसार, मृतक साहको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


