प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे, विभिन्न विधेयक टेबुल हुने

काठमाडौं, २३ असार । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरू टेबुल गरिने कार्यसूची तय गरिएको छ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभाबाट उत्पत्ति भएका ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन्।

त्यस्तै, चालु आर्थिक वर्षका लागि तयार गरिएका ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गरिने कार्यक्रम छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने तयारी गरिएको छ। त्यसैगरी, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची तय गरिएको छ।

 

Share:

सम्बन्धित समाचारहरु