राप्ती नगरपालिकाले ल्यायो ९७ करोडको बजेट, ‘सडक मानवमुक्त नगर’ बनाउने घोषणा

चितवन ,२० असार । राप्ती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ९७ करोड ५६ लाख ५७ हजार ८ सय ४९ रुपैयाँको अनुमानित आय–व्यय बजेट सार्वजनिक गरेको छ। नगरको शुक्रबार सम्पन्न नवौं नगरसभामा उपप्रमुख देवेन्द्र लामाले बजेट प्रस्तुत गरेका हुन्।

बजेटअनुसार संघीय सरकारबाट विभिन्न शीर्षकमा ६९ करोड ६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। त्यसमा संघीय समानीकरण अनुदान १६ करोड ५० लाख, राजस्व बाँडफाँड १४ करोड ७६ लाख ३५ हजार ३०९ रुपैयाँ, शर्तसहितको अनुदान ३४ करोड ७८ लाख, विशेष अनुदान २ करोड १५ लाख र समपूरक अनुदान ८७ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, प्रदेश सरकारबाट समानीकरण, राजस्व बाँडफाँड, शर्तसहितको अनुदान, विशेष अनुदान र समपूरक अनुदानमार्फत कूल १३ करोड ५० लाख २२ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ। यस्तै, आन्तरिक स्रोतबाट १० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको छ भने अनुमानित बैंक मौज्दात ४ करोड रुपैयाँ रहेको छ।

नगर प्रमुख शमशेर लामाले नगरसभामा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई सडक मानवमुक्त बनाउने प्रतिबद्धता जनाए। उनका अनुसार, सडकमा बस्न बाध्य, एक्ला तथा बेसहारा नागरिकलाई मानव सेवा आश्रम चितवनसँग सहकार्य गरेर आश्रय वा परिवारसँग पुनर्मिलन गराइनेछ।

प्रमुख लामाले नगरपालिकाले जन आदर्श बहुमुखी क्याम्पसको स्वामित्व ग्रहण गरी स्नातक तथा स्नातकोत्तर तहको कक्षा प्रभावकारी रूपमा सञ्चालन गर्ने योजना रहेको पनि उल्लेख गरे।

स्वास्थ्य क्षेत्र अन्तर्गत ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम, निःशुल्क रगत, एउटा कलमा एम्बुलेन्स सेवा, जनता केयर कार्यक्रम, निशुल्क स्वास्थ्य परीक्षण, नगरमै सुत्केरी सेवा, पूर्ण खोप कार्यक्रम’ लाई निरन्तरता दिइनेछ।

शिक्षा क्षेत्रमा ‘पढ्न पैसा पर्दैन’ अभियानअन्तर्गत नमुना बालविकास केन्द्र, छात्रावास सञ्चालन लगायत कार्यक्रम अगाडि बढाइनेछ। कृषिमा कफि जोन, गोवर परीक्षण, कृषि एम्बुलेन्स, एक वर्ष सय घर, नगरका चोक–चोकमा इन्टरनेट, चिउरी–चमेरो कार्यक्रम, र उज्यालो राप्ती अभियान सञ्चालन गरिनेछ।

यस्तै, स्व. जेपी भेटवालको सम्झनामा वडा नम्बर ५ मा रहेको नागदह खहरे चौरमा जेपी प्रतिष्ठान गठन गरिनेछ। त्यस्तै, स्व. छेकु लामाको सम्झनामा छेकु लामा प्रतिष्ठानसँग सहकार्य गर्दै वडा नम्बर १० मा डम्फु जोन निर्माण तथा प्रतिमा स्थापनाको योजना पनि अघि सारिएको छ।

नगर प्रमुख शमशेर लामाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, जन आदर्श बहुमुखी क्याम्पसको विधान तथा विभिन्न समितिका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित भएको प्रमुख प्रशासकीय अधिकृत अमरबहादुर ओलिले जानकारी दिए।

Share:

सम्बन्धित समाचारहरु