-रेशम सापकोटा – सेतो नेपाल
माडी, १७ असार । माडी नगरपालिका वडा नम्बर ८ स्थित फुलबारी आमा समूह परिसरमा मिति २०८२ असार १६ गते पपुलर युनिसेक्स सैलुनले सामाजिक उत्तरदायित्व अन्तर्गत विशेष कार्यक्रम सम्पन्न गर्यो। सैलुनका प्रोप्राइटर सुलभ सिग्देल, सरसफाइ अभियन्ता धिरेन्द कुमार शाह र कर्मचारीहरूको टोली उक्त दिन फुलबारी आमा समुह परिसर पुगेको थियो।
कार्यक्रममा, फुलबारी आमा समूहका आठ दिदीबहिनीहरूको निःशुल्क रूपमा कपाल काटियो। साथै, सोही समूह नजिक रहेको श्री राष्ट्रिय आधारभूत विद्यालय, दक्षिण अयोध्यापुरीका १५ जना बालबालिकाको पनि कपाल निःशुल्क काटिएको थियो। बालबालिकाले कपाल काटाइसकेपछि देखाएको खुसी र उत्साह अनुहारमा झल्किन्थ्यो, जसले उपस्थित सबैलाई प्रभावित बनायो।
त्यसैगरी टोलीले फुलबारी आमा समुहको बाटोमा वृक्षरोपण समेत गर्यो। वृक्षरोपणले न्यानो सामाजिक सम्बन्ध र हरियाली विस्तारमा थप प्रेरणा मिलाएको छ।
भरतपुर महानगरपालिका वडा नम्बर १०, सिजील्यान्ड मार्गमा रहेको पपुलर युनिसेक्स सैलुन विगत १३ वर्षदेखि सौन्दर्य सेवा मात्र नभई समाजमा आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। यस संस्थाले स्थानीय महिला–पुरुषलाई कपाल काट्ने सेवासँगै युवायुवतीलाई व्यावसायिक तालिम दिने काम निरन्तर गर्दै आएको छ।
साथै, पपुलर युनिसेक्सले चितवनका विभिन्न विद्यालयहरूमा निःशुल्क कपाल काट्ने, कपी किताब तथा लत्ताकपडा वितरण गर्ने लगायतका सामाजिक कामहरूमा सक्रिय भूमिका खेलेको छ। हालसम्म करिब पाँच हजार बालबालिकाले यस संस्थाबाट निःशुल्क सेवा पाइसकेका छन्।
फुलबारी आमा समूहले राज्यको आर्थिक सहयोग बिना पनि समुदायको सक्रियता र समर्पणबाट सामाजिक उत्तरदायित्व बहन गर्दै आएको छ। समूहले आफ्नो क्षेत्रका सडकहरूलाई रङ्गीन बनाउने, दुवैतर्फ रङ्ग–रोगन गरिएको ढुङ्गा सजाउने, वातावरणमैत्री डोका डस्टबिन प्रयोग गर्ने, दायाँ–बायाँ वृक्षरोपण गर्ने, प्रत्येक घर अगाडि फूलबारी बनाउने, राष्ट्रिय झण्डा बाटोको दायाँ बायाँ सजाउने लगायत थुप्रै कार्यहरू गर्दै आएको छ। साथै समूहले सामुहिक खेती गर्दै गाउँलाई आत्मनिर्भर र समृद्ध बनाउने दिशामा पनि सक्रिय रुपमा अगाडि बड्दै छ।
पपुलर युनिसेक्स सैलुनका प्रोप्राइटर सुलभ सिग्देलले भने, “हामीले विगत लामो समयदेखि यस्ता सामाजिक कार्य गर्दै आएका छौं। राज्यको सहयोग नहुँदा पनि जब समुदाय आफैं जुट्छ, त्यसले साँच्चिकै ठूलो परिवर्तन ल्याउन सक्छ। फुलबारी आमा समूहको समर्पण र कर्मठता देखेर हामीलाई थप सामाजिक काम गर्न प्रेरणा मिल्यो।”
फुलबारी आमा समूहकी सचिव सोमा पन्तले भन्नुभयो , “हामीले गरेका कामहरूलाई यस्तो सम्मान र साथ पाउनु हामी सबैका लागि ठूलो हौसला हो। आगामी दिनमा पनि हामी निरन्तर सामाजिक सेवामा लागिरहने प्रतिबद्ध छौं।”
यसरी पपुलर युनिसेक्स सैलुन र फुलबारी आमा समूहबीचको सहकार्यले व्यवसाय र समाजसेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको छ। राज्यको प्रत्यक्ष सहयोग नहुँदा पनि समुदाय स्वयं जुटेर गरिने सामाजिक उत्तरदायित्व र सहकार्यले स्थानीय विकास र दिगो सामाजिक परिवर्तन सम्भव छ भन्ने कुराको स्पष्ट उदाहरण बनेको छ।




—00–
